एनटिभिए गण्डकीको अध्यक्षमा रविप्रसाद आचार्य चयन

-


     पोखरा क्लिक     
     चैत्र ७ गते २०८२ मा प्रकाशित


पोखरा, ७ चैत,

नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रविप्रसाद आचार्य को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा विकासप्रसाद कंडेल, द्वितीय उपाध्यक्षमा भुवानीप्रसाद अधिकारी, महासचिवमा श्यामप्रसाद लामिछाने, सचिवमा शोभाखर तिवारी, कोषाध्यक्षमा सुमन कुँवर र सह–कोषाध्यक्षमा संगीता अधिकारी आचार्य निर्वाचित भएका छन्। सदस्यहरूमा आनन्दराज अधिकारी, रविन्द्र कुँवर, मित्रलाल अधिकारी, प्रतिक लामिछाने र सुरज सापकोटा रहेका छन्। अधिवेशनका लागि कृष्णबहादुर थापा को संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो, जसमा भीमबहादुर गोले तामाङ, मदन शर्मा, सोमबहादुर थापा, महेश सापकोटा, बोबरजंग गुरुङ र बाबुराम पाण्डे सदस्य रहेका थिए। नवनिर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष दुर्गादत्त दाहाल, पोखरा पर्यटन परिषद का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने लगायतले खादा तथा माला लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

नवनिर्वाचित अध्यक्ष आचार्यले पर्यटक यातायात सेवालाई अझ गुणस्तरीय बनाउँदै हरियो नम्बर प्लेट सवारीको गरिमा कायम राख्ने प्रतिबद्धता जनाए। उनले पर्यटनमैत्री सेवा विस्तार, व्यवसायिक सुधार र यात्रु सेवाको स्तर उकास्न नयाँ कार्यसमिति सक्रिय रूपमा लाग्ने बताए। अधिवेशनको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। पत्रकारितामार्फत पर्यटन प्रवर्द्धनमा योगदान दिएको भन्दै वासुदेव पौडेल र दिपेन्द्र पहारी सम्मानित भएका छन्। त्यस्तै गण्डकी प्रदेशमा पहिलोपटक हरियो नम्बर प्लेटको पर्यटक सवारी भित्र्याउने हरिध्वज तुलाचन लाई विशेष सम्मान प्रदान गरिएको थियो। उत्कृष्ट कर्मचारीका रूपमा श्रीप्रसाद खतिवडा र इन्द्र राना मगर पनि सम्मानित भएका छन्।

कार्यक्रममा वक्ताहरूले नेपालको पर्यटन क्षेत्रमा पर्यटक यातायातको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सेवा गुणस्तर कायम राख्न, विदेशी सवारी साधनको नियमन गर्न तथा विद्यमान समस्याहरू समाधान गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको औंल्याएका थिए । कार्यक्रमका सभापति समेत रहेका निवर्तमान अध्यक्ष दाहालले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण अतिथि, प्रतिनिधि, संघ–संस्था तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए। साथै, अधिवेशनका क्रममा आफूलाई व्यक्तिगत रूपमा समेत शुभकामना प्रदान गर्ने सबैप्रति उनले विशेष धन्यवाद व्यक्त गरेका छन्।