
पोखरा,
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा जारी २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६ अन्तर्गत दोस्रो दिनका प्रतिस्पर्धासम्म आउदा चाइनिज खेलाडी र भारतीय खेलाडीले उत्कृष्ट खेल प्रर्दशन गरेका छन् ।
शुक्रबारसम्म आयोजक संस्था ना ले दिएको अंकतालिकाअनुसार एक्यूरेसी पुरुष एकलतर्फ को विधामा भारतका अक्षय कुमार र चीनका झोउ चेन समान ७÷७ अंकसहित संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । त्यसैगरी, भारतका अलिस्तर रुमतेल, मनीष उप्रेती र इमान रुम्तेलले समान ८÷८ अंकसहित संयुक्त तेस्रो स्थानमा रहेका छन् । नेपाली खेलाडीहरूमध्ये अरुण जालारी र पवन परियार ११÷११ अंकसहित संयुक्त छैटौँ स्थानमा रहेको प्रविधिक प्रमुख बिमल अधिकारीले बताउनु भयो ।
यसैगरी, भारतका मोहर सिंह, नेपालका रिखी पोडे र विष्णु तिमिल्सिना तथा भारतका सोनम लद्दाखी १२ अंकसहित संयुक्त आठौँ स्थानमा छन् । अन्य नेपाली खेलाडीमध्ये अञ्जन कुँवर १३ अंकसहित १२औँ स्थानमा रहँदा सुमन जंग थापा १६ अंकसहित १३औँ स्थानमा छन् । एक्यूरेसी टिम इभेन्टतर्फ भारतीय मिक्स टोलीले अग्रता कायम राखेको छ । ११ टोली सहभागी रहेको प्रतिस्पर्धामा दोस्रो दिनसम्म भारत ३८ अंकसहित शीर्ष स्थानमा छ । इन्डो–नेपाल संयुक्त टोली ६७ अंकसहित दोस्रो स्थानमा छ भने टिम नेपाल १०९ अंकसहित तेस्रो स्थानमा रहेको छ। अर्को नेपाली टोली १६० अंकसहित चौथो स्थानमा छ । यस प्रतियोगिताले साहसिक खेल पर्यटनको प्रबद्र्धन गर्ने प्रतियोगिताका संयोजक सुनिल भट्टराईले बताए ।
यता महिलातर्फको एकल प्रतिस्पर्धामा चीनकी कङ सियाङ यान उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा रहेकी छन् । पाँच राउण्डसम्मको प्रतिस्पर्धामा उनले ७ अंकसहित शीर्ष स्थान बनाएकी छन् । नेपालकी दुर्गा माया गुरुङ १२६ अंकसहित दोस्रो स्थानमा रहेकी छन् भने भारतकी श्रेयशी तामाङ १४९ अंकसहित तेस्रो स्थानमा छन् । त्यसैगरी, नेपालकी इस्का राई ३५४ अंकसहित चौथो स्थानमा रहँदा कृषु पौडेल ५२६ अंकसहित पाँचौँ स्थानमा छन् । हालसम्म पाँच राउण्डका खेल सम्पन्न भइसकेका छन् । मौसम तथा हावाको अवस्थाले खेलमा प्रभाव पारिरहेको भए पनि अधिकांश उडान सफलतापूर्वक सम्पन्न भएको ना का अध्यक्ष अनिल केसीले बताए । प्रतियोगितामा नेपाल, भारत, इटाली, जर्मनी र चीनका गरी ५ देशका ६२ खेलाडी सहभागी छन्, जसमा पुरुषतर्फ ५२ र महिलातर्फ १० जना रहेका छन् ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष व्यक्तिगततर्फ विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । समूहतर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पाउनेछन् । महिलातर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितालाई सफल पार्न आवश्यक सुरक्षा व्यबथा र खेलाडीहरुलाई सेटमा राम्रोसंग निर्देशन जारी गरिएको सेफ्टी डाइरेक्टर योगेश बहादुर भट्टराईले बताउनु भयो ।



