
पोखरा,
प्रधानमन्त्री (पीएम) कप गण्डकी प्रदेश स्तरीय छनोट प्रतियोगिताको उपाधि कास्कीले नवलपुरलाई ४८ रनले पराजित गर्दै च्याम्पियन बनेको छ। पीएम कप छनौट एक दिवशिय क्रिकेटमा कास्की लगातार दोस्रो पटक च्याम्पियन भएको हो ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबार पोखरामा सम्पन्न फाइनल खेलमा कास्कीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४० रनको योगफल तयार पार्यो । २४१ रनको लक्ष्य पाएको नवलपुर ४३.२ ओभरमा अलआउट हुँदै १९२ रनमै समेटिन पुग्यो । कास्कीको जितमा अर्जुन कुमाल शतक पूरा गर्दै नायक बने । उनले १३१ बलमा १११ रनको उत्कृष्ट सतकीय इनिङ खेल्दै टोलीलाई मजबुती बनाए । उनले ९ चौका र १ छक्का प्रहार गरे । सुभाष भण्डारीले ५३ बलमा ४२ रन बनाए । अन्तिम समयमा कृष्ण पौडेलले आक्रामक ब्याटिङ गर्दै १४ बलमा २७ रन जोड्दा टोलीको स्कोर प्रतिस्पर्धात्मक बनेको थियो। कप्तान बिपिन खत्री भने २ रनमै आउट भए । कास्कीले सुरुवातमा राम्रो सुरुवात गर्न सकेन । बलिङतर्फ नवलपुरका अपराजित पौडेल र कमल परियारले समान २–२ विकेट लिए भने मुन्ना नेपाली र सुदीप अर्यालले १–१ विकेट लिए ।
जवाफमा नवलपुरले सन्तोषजनक सुरुवात गरे पनि ठूलो साझेदारी गर्न सकेन। गौरव विश्वकर्माले २६ र अनिश गुरुङले १५ रन बनाए। दीपक डुम्रेले ३६ रनको योगदान दिए पनि अन्य ब्याटर टिक्न नसक्दा टोली दबाबमा परेको थियो । कप्तान कमल परियारले २९ बलमा ३८ रनको संघर्षपूर्ण इनिङ खेले पनि अन्य ब्याटरबाट साथ नपाउँदा त्यो प्रयास जितका लागि पर्याप्त हुन सकेन। बिग्यान पाण्डेले २६ तथा मुन्ना नेपालीले १५ रन बनाए । कास्कीका लागि कृष्ण पौडेल सबैभन्दा सफल बलर सावित भए। उनले ९ ओभरमा ४ विकेट लिँदै नवलपुरको इनिङ ध्वस्त पारे। बिपिन खत्री र सुभाष भण्डारीले समान २–२ विकेट लिए भने सिब्रिन श्रेष्ठले १ विकेट हात पारे । प्रतियोगितामा प्लेयर अफ दि सिरिज कास्की अर्जुन कुमाल बने । उनी उत्कृष्ट व्याटर समेत घोषित भए । अर्जुनले प्रतियोगितामा दुई सतकसहित ३२७ रन बनाए । यस्तै कास्कीका विपिन खत्री उत्कृष्ट बलर बने । उनले कुल १२ विकेट लिएका थिए ।
प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) का सदस्य सुदिप शर्मा, गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, उपाध्यक्ष प्रकाश पौडेल, सचिब सुमनराज कार्की, कोषाध्यक्ष दिवाकर थापा, प्रतियोगिता छनौट समितीका संयोजक रेशम केसी, क्यानका पूर्व सदस्य ऋषीराम गौतम, होटल पौवाका जेनरल म्यानेजर केशव भण्डारी, एक्स टेपका ब्राण्ड म्यानेजर शम्भु अधिकारी लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । गत फागुन २८ गतेबाट सुरू भएको प्रतियोगितामा गण्डकीका ६ जिल्लाको सहभागिता रहेको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताए ।



