
दीननाथ बराल,
पोखरा २८, फागुन,
प्रधानमन्त्री (पीएम) कप गण्डकी प्रदेशस्तरीय पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा कास्की र स्याङ्जाले विजयी सुरुवात गरेका छन् । आज (बिहीबार) भएको दुई खेलमा कास्कीले बागलुङलाई फराकिलो अन्तरले पराजित गर्दा स्याङ्जाले तनहुँलाई ४४ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेका हुन् ।

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा कास्कीले बागलुङलाई २५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको बागलुङविरुद्ध कास्कीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३२६ रनको विशाल योगफल खडा गर्यो । कास्कीका लागि रोहित चन्दले उत्कृष्ट शतक प्रहार गर्दै १२ चौका र ६ छक्काको सहयोगमा १३१ रन बनाउनु भयो । मुस्कान थापाले ११ चौका र ३ छक्कासहित ९३ रन बनाउनु भयो । बागलुङका लागि अश्विन थापाले २ विकेट लिनुभयो भने कुशल खड्का र विश्वो कार्कीले समान १–१ विकेट लिनुभयो । ३२७ रनको लक्ष्य पछ्याएको बागलुङ २३.२ ओभरमा ७२ रनमै अलआउट भयो। टोलीका लागि आरस तामाङले २३ रन बनाउँदै सर्वाधिक रन जोड्नु भयो । कास्कीका लागि विश्वास पराजुलीले ४ विकेट लिदा सुबास भण्डारी र बिपिन खत्रीले समान २–२ विकेट लिनुभयो।

यसैगरी समूह ‘बी’ अन्तर्गत पोखराको लेखनाथस्थित एडन हेभेन्स क्रिकेट मैदानमा भएको खेलमा स्याङ्जाले तनहुँलाई ४४ रनले पराजित गरेको छ । स्याङ्जाले दिएको २३३ रनको लक्ष्य पछ्याएको तनहुँ ३९ ओभरमा १८८ रनमै अलआउट भयो। यसैबीच प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रधानमन्त्री कप गण्डकी प्रदेश छनोट प्रतियोगिताले प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडीहरूलाई राष्ट्रिय स्तरमा पुग्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो। प्रादेशिक क्रिकेट संघ गण्डकीद्वारा आयोजित कार्यक्रममा उहाँले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई अनुशासन, एकता, स्वास्थ्य र राष्ट्रिय गौरवसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्नुभयो। क्रिकेट अहिले नेपाली युवामाझ सबैभन्दा लोकप्रिय खेलका रूपमा स्थापित भइसकेको बताउँदै यसले युवामा ऊर्जा, आत्मविश्वास र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो। कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले क्रिकेटको विकासका लागि संघ सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो। प्रतियोगितामा गण्डकी प्रदेशका ६ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको छ। प्रतियोगिता चैत ३ गतेसम्म सञ्चालन हुनेछ।





