
दीननाथ बराल,
पोखरा, २८ फागुन,
प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाविर पुनमाथि पोखरामा पुस्तक बिक्रीका क्रममा दुव्र्यवहार गर्ने व्यक्ति अन्ततः पक्राउ परेका छन्। पोखरा महानगरपालिका–१३ बाँझापाटनका ४३ वर्षीय विकास गुरुङलाई बुधबार पोखरा–९ महेन्द्रपुलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गुरुङलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले पोखराक्लिकलाई जानकारी दिए । फागुन २५ गते पोखराको पृथ्वीचोकमा डा। पुनसहितको टोलीले “महाविर पुन स् सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेका बेला गुरुङले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो।
सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममार्फत सांसदलाई सार्वजनिक रूपमा दुव्र्यवहार गर्ने व्यक्तिमाथि कारबाही गर्न माग उठेपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजतलास तीव्र बनाएको थियो। सोही क्रममा विकास गुरुङलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। प्रहरी अभिलेखअनुसार गुरुङ यसअघि लागुऔषध सम्बन्धी मुद्दामा तीन पटकसम्म सजाय भोगिसकेको पनि खुलेको छ। उहाँलाई पक्राउ परे पछि मा. महाविर पुनलाई र उहाँका आफन्तलाई सम्पर्क गरेर प्रतिकृया लिन खोज्दा यो समाचार तयार पार्दासम्म फोन उठेन ।
यसैबीच, राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले डा। पुनले देशका विभिन्न स्थानमा पुगेर आफ्नो जीवनकथामा आधारित पुस्तक बिक्री अभियान सञ्चालन गर्दै आएका छन्। सोही अभियान अन्तर्गत उनी पोखराका विभिन्न स्थानमा पुगेर सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै पुस्तक बिक्री गरिरहेका छन्। सोमबार अमरसिंहचोक, पृथ्वीचोक लगायतका क्षेत्रमा पुगेर पुनले आफैं पुस्तक बिक्री गर्नुका साथै पाठकलाई हस्ताक्षरसहित पुस्तक हस्तान्तरण गरेका थिए। पुनसँग भेट्न र पुस्तक किन्न सर्वसाधारण, विद्यार्थी तथा युवाहरूको उल्लेख्य भीड लागेको थियो। यस क्रममा बुधबार पोखरामा मात्रै पुस्तक बिक्रीबाट करिब ८ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको उनी निकट स्रोतले जनाएको छ।
बिहीबार रामबजार र सृजनाचोक क्षेत्रमा पुस्तक बिक्रीका लागि पुगेका पुनले पुस्तक सकिएपछि नयाँ सूचना जारी गरेर मात्रै पुनः बिक्री गरिने जानकारी दिएका थिए । राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन तथा वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले पुनले पुस्तक बिक्री अभियान चलाउँदै आएका छन्। यसअघि पनि उनले देशका विभिन्न जिल्लामा पुगेर करोडौं रुपैयाँ बराबरको पुस्तक बिक्री गरिसकेका छन् ।
महाविर पुन प्रकरणमा पत्रकार अमृत सुवेदीको प्रश्नः
प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाविर पुनसँग पृथ्वीचोकमा पुस्तक बिक्रीका क्रममा प्रश्न गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको विषयलाई लिएर पत्रकार अमृत सुवेदीले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रश्न सोधेकै आधारमा कसैलाई पक्राउ गर्नु उपयुक्त नहुने बताएका हुन्।
सुवेदीले पृथ्वीचोकमा पुस्तक बिक्री गरिरहेका महाविर पुनसँग प्रश्न गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गर्दै घटनामा प्रहरीमा औपचारिक जाहेरी समेत नभएको दाबी गरेका छन्। उनका अनुसार पुनले समेत “जे गर्नुस्” भन्ने प्रतिक्रिया दिएको अवस्थामा पक्राउ गर्नु आवश्यक थियो कि थिएन भन्ने प्रश्न उठेको छ। उनले लेखेका छन्, पृथ्वीचोकमा भएको घटनामा सामान्य भनाभन भएको देखिए पनि त्यसैको आधारमा पक्राउ गर्नु उचित देखिँदैन। “किताब बेचिरहेका महावीरलाई त्यति प्रश्न गरेकै भरमा पक्राउ नै गर्नुपर्ने हो ररु” भन्दै उनले प्रश्न गरेका छन्।
सुवेदीले पुन आफूलाई साधारण जीवनशैलीको व्यक्ति भनेर चिनाउने भए पनि कहिलेकाहीँ उनलाई भेट्न जाने सर्वसाधारणसँग पनि चर्को व्यवहार हुने गरेको टिप्पणी गरेका छन्। “जो आफू साधारण हुँ भन्छन्, तर उनलाई मन पराएर किताब किन्न जाने वा फोटो खिच्न खोज्नेहरूसँग पनि च्याँठिने, धकेल्ने र गाली गर्ने घटनाहरू देखिन्छन्,” उनले उल्लेख गरेका छन्। उनका अनुसार लोकतान्त्रिक समाजमा सार्वजनिक व्यक्तिलाई नागरिकले प्रश्न गर्नु स्वाभाविक कुरा हो। “तिमीलाई जिताएर संसद् पठाएका नागरिकले किताब बेच्न किन हिँडेको भनेर सोध्दा पक्राउ हुनुपर्ने हो ररु” भन्दै उनले यो विषय विरोधाभाषपूर्ण भएको टिप्पणी गरेका छन्।
सुवेदीले महाविर पुनले सधैं सरकार र राज्य संयन्त्रलाई प्रश्न गर्दै आएको उल्लेख गर्दै अब उनी स्वयं नीति निर्माणको तहमा पुगेकाले त्यहीँबाट काम गर्नुपर्ने सुझाव दिएका छन्। “जनताले तिमीलाई नीति निर्माणकै तहमा पठाइसकेका छन्, अब त्यतैबाट काम गर्नु राम्रो होइन ररु” भन्ने आशय उनको अभिव्यक्तिमा देखिन्छ। साथै उनले राष्ट्रिय आविष्कार केन्द्रका लागि संकलित चन्दाको पारदर्शिताबारे पनि नागरिकले प्रश्न उठाइरहेको उल्लेख गरेका छन्। “अहिलेसम्म उठाइएको चन्दाको हिसाब–किताबबारे पनि जनताले सोधिरहेका छन्, त्यसको जवाफ दिनु आवश्यक छ,” उनले बताएका छन्।
सुवेदीले आफू पुनको कामप्रति सम्मान गर्ने समर्थक रहेको उल्लेख गर्दै राज्यको लगानी कानुनी प्रक्रिया अनुसार नै हुने भएकाले त्यसलाई पनि बुझ्न आवश्यक रहेको बताएका छन्। उनका अनुसार गण्डकी प्रदेश सरकारले आविष्कार केन्द्रका लागि १० करोड रुपैयाँ बजेट छुट्याए पनि आवश्यक कानुनी प्रक्रिया पूरा नभएकाले उक्त रकम खर्च हुन नसकेको थियो। उनले अन्त्यमा पुनले आविष्कार र अनुसन्धानका क्षेत्रमा काम गरिरहेकाले अब नीति निर्माण तहमा बसेर त्यसलाई संस्थागत रूपमा अघि बढाउने रणनीति बनाउनुपर्ने धारणा राखेका छन्।





