
दीननाथ बराल
पोखरा २८, फागुन,
सम्भवत हृदयाघातका कारण पोखराका पूर्व मेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्णबहादुर थापाको निधन भएको छ । आज (बिहीबार) कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठकमा बोल्दै गरेका थापा एक्कासि ढलेपछि उपचारका लागि तत्काल मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो। तर अस्पतालले दिउँसो करिब ३ः४० बजे उहाँलाई मृत घोषणा गरेको एमाले कास्कीले जनाएको छ ।
पार्टी कार्यालयमा आयोजित बैठकमा करिब १० मिनेट आफनो भनाई राखेपछि थापा कुर्सीमा बस्नु भएको थियो । मन्तव्य सकेपछि साथी नेताहरूसँग हात मिलाउने क्रममा उहाँ एक्कासि ढलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उपचारको लागि उहाँलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो । थापा दिउँसो करिब २ बजेर ४१ देखि ४३ मिनेटको बीचमा ढल्नु भएको थियो भने करिब १० मिनेटभित्रै उहाँलाई अस्पताल पुर्याइएको थियो। “हात मिलाउने क्रममा एक्कासि उहाँको घाँटीबाट अस्वाभाविक आवाज आयो। हामीले तत्काल जुत्ता खोलेर गाडी मगायौँ र अस्पताल लग्यौँ । ” एक नेता भेषराज बरालले भन्नुभयो । बैठकमा चुनावको टिकट वितरण र पार्टीको निर्वाचन परिणामलाई लिएर कार्यकर्ताहरूले नेतृत्वमाथि प्रश्न उठाइरहेका थिए। सबैको कुरा सुनेपछि थापाले अत्यन्त सन्तुलित रूपमा जवाफ दिदै चुनावी परिणामको सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिने बताउनु भएको थियो ।
“मलाई पार्टीले टिकट दिएको पनि हो, पछि खोसिएको पनि हो। तर पार्टीले हार व्यहोरेको छ, त्यसको जिम्मेवारी लिन म तयार छु,” उहाँले उक्त भनाई भनेको केही मिनेटमा उहाँ ढलेसंगै सदाको लागि संसारबाट बिदा हुनु भयो ।मणिपाल शिक्षण अस्पतालका चिकित्सक डा. अविनास बस्नेतका अनुसार अस्पताल ल्याइँदासम्म थापाको मुटु र स्वासप्रश्वास चलेको अवस्था थिएन। प्रारम्भिक रूपमा सम्भवत हृदयाघातका कारण मृत्यु भएको अनुमान गरिएको उहाँले बताउनुभयो। अस्पताल परिसरमा अहिले विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूको भीड लागेको छ। थापाको शव हाल मणिपाल अस्पतालमै राखिएको छ।
६६ वर्षीय थापा २०५४ सालमा पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित हुनु भएको थियो । उहाँले २०७४ सालमा गण्डकी प्रदेशसभा सदस्यका रूपमा समेत जिम्मेवारी सम्हाल्नु भएको थियो । यसैबिच, पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पोखराको विकास र समृद्धिमा उनले पुर्याएको योगदानलाई नागरिकहरूले सदैव स्मरण गर्ने बताउनु भएको छ । उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मेयर आचार्यले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।




