पोखरामा महावीर पुनले आज पनि पुस्तक बिक्री गर्दैः महानगरको ध्यानाकर्षण

-


     पोखरा क्लिक     
     फागुन २७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २७ फागुन,

प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्र का संस्थापक महावीर पुन आज पनि पोखराका विभिन्न चोकमा स्वयं उपस्थित भएर आफ्नो आत्मकथात्मक पुस्तक बिक्री गर्दै छन्। पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बिहान १० बजेदेखि चिप्लेढुंगा क्षेत्रमा, दिउँसो १ बजे सभागृह चोक र बेलुका ४ बजेपछि बिरौटा चोकमा पुस्तक बिक्री गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन्। उनले मतगणनाको काम अझै जारी रहेकाले फुर्सदको समयमा पुस्तक बिक्री गर्दै आएको र संकलित रकम वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन तथा आविष्कार केन्द्रका गतिविधिका लागि प्रयोग गर्ने बताएका हुन् ।

यसैबीच, पोखरा महानगरपालिकाले भने पुनको सडकमा पुस्तक बिक्री गर्ने कार्यप्रति ध्यानाकर्षण जनाएको छ। महानगरका मेयर धनराज आचार्य ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुनको अभियानप्रति सम्मान रहेको उल्लेख गर्दै पुस्तक बिक्रीलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न सुझाव दिएका छन्। मेयर आचार्यले बिना दर्ता वा आवश्यक अनुमति सडकमा वस्तु बिक्री–वितरण गर्दा कानुनी जटिलता आउन सक्ने उल्लेख गर्दै यस्तो गतिविधि व्यवस्थित स्थानबाट सञ्चालन गर्न उपयुक्त हुने बताएका छन्। उनले पुस्तक व्यवसायी महासंघमार्फत पुनलाई उपयुक्त स्थान उपलब्ध गराई पुस्तक बिक्री–वितरणमा सहयोग गर्न सकिने पनि बताएका छन्।

उनका अनुसार देशभर करिब १८ हजार पुस्तक व्यवसायी विभिन्न निकायमा दर्ता भई पुस्तक बिक्री–वितरण गर्दै आएका छन्। पुनले पुस्तकको स्टक उपलब्ध गराए महासंघमार्फत बिक्री गरी उचित भुक्तानी उपलब्ध गराउन पनि सहजीकरण गर्न सकिने मेयर आचार्यले बताएका छन्। यसअघि सोमबार पनि पुनले पोखराका अमरसिंहचोक, पृथ्वीचोक लगायतका स्थानमा पुगेर आफ्नो जीवनीमा आधारित पुस्तक बिक्री गरेका थिए। पुनसँग भेट्न र पुस्तक खरिद गर्न सर्वसाधारण, विद्यार्थी तथा युवाहरूको उल्लेख्य भीड लागेको थियो। पाठकलाई उनले हस्ताक्षरसहित पुस्तक हस्तान्तरण गर्दा फोटो खिच्ने र सेल्फी लिनेहरूको पनि भीड देखिएको थियो।

पुनका आफन्तका अनुसार सोमबार मात्रै पोखरामा करिब ८ सय प्रति पुस्तक बिक्री भएको थियो। विद्यार्थीका लागि पुस्तकको मूल्य ५ सय रुपैयाँ र अन्यका लागि ७ सय ५० रुपैयाँ तोकिएको छ। सामान्य पोसाक र चप्पलमा देखिएका पुनको सादा जीवनशैलीले धेरैलाई प्रभावित बनाएको देखिन्थ्यो। केही समर्थकले उनलाई फूलमाला तथा खादा ओढाएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिएका थिए। यद्यपि, सांसद भएर पनि सडकमा स्वयं पुस्तक बिक्री गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यस्तो कार्य पुस्तक व्यवसायीमार्फत गरिनुपर्ने बताएका छन् भने धेरैले पुनको अभियानलाई सहयोग गर्न स्वतःस्फूर्त रूपमा पुस्तक खरिद गरिरहेको प्रतिक्रिया दिएका छन्। पुनले आफ्नो जीवनकथामा आधारित उक्त पुस्तक देशका विभिन्न स्थानमा पुगेर स्वयं बिक्री गर्दै आएका छन्। आविष्कार केन्द्र र वीरगञ्ज कृषि औजार कारखाना सुधारका लागि रकम जुटाउने उद्देश्यले सुरु गरिएको यस अभियानबाट हालसम्म करोडौँ रुपैयाँ बराबरको पुस्तक बिक्री भइसकेको बताइएको छ। सोमबार महाविर पुनलाई पोखरामा एक जनाले दूव्र्यवहार गरेका थिए ।