प्रधानमन्त्री कप प्रदेश स्तरिय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता विहिबारदेखि पोखरामा हुने

-


     पोखरा क्लिक     
     फागुन २६ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २६ फागुन,

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली छनोट गर्ने उद्देश्यले पिएम कप गण्डकी प्रदेशस्तरीय पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगिता बिहीबारदेखि पोखरामा सुरु हुने भएको छ । गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगिता फागुन २८ देखि चैत ३ गतेसम्म पोखरा रंगशाला क्रिकेट मैदान र लेखनाथस्थित इडन हेभेन क्रिकेट मैदानमा सञ्चालन हुने संघले पोखराक्लिकलाई जनाएको छ ।

प्रतियोगितामा कास्की, स्याङ्जा, बागलुङ, तनहुँ, नवलपुर र पर्वत गरी गण्डकी प्रदेशका ६ जिल्लाका टोली बीच प्रतिस्पर्धा गर्ने भएको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो । प्रतियोगितामा खेलाडीहरूले गरेको प्रदर्शनका आधारमा उत्कृष्ट २४ जना खेलाडी छनोट गरी उनीहरूलाई बन्द प्रशिक्षणमा समावेश गरिने उहाँले जनाउनु भयो । बन्द प्रशिक्षण चैत ४ देखि ७ गतेसम्म पोखरा रंगशाला क्रिकेट मैदानमा सञ्चालन हुनेछ, जहाँ खेलाडीहरूको फिटनेस परीक्षण तथा अभ्यास खेल पनि गराइने भएको हो । खेलाडीहरूको क्षमता मूल्याङ्कन र राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि मानसिक तयारी गराउने उद्देश्यले ‘मुक्तिनाथ’ र ‘त्रिवेणी’ नामका दुई टोली गठन गरी तीन वटा अभ्यास खेल आयोजना गरिने कार्यक्रम रहेको छ । ती अभ्यास खेल र प्रशिक्षणको आधारमा अन्तिम १५ सदस्यीय गण्डकी प्रदेश टोली घोषणा गरिने भएको संघका सचिव सुमनराज कार्कीले बताउनु भयो ।

उक्त टोलीले चैत ७ गतेदेखि बागमती र मधेश प्रदेशमा सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछ । गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले प्रदेशमा क्रिकेटको विकास र प्रतिभाशाली खेलाडी पहिचान गर्न यो छनोट प्रतियोगिता महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रम फागुन २८ गते बिहान ८ः३० बजे पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजना गरिने संघले जनाएको छ । बागलुङ र कास्की उद्घाटन खेलमा भिड्ने भएका हुन् ।