कास्कीमा रास्वपा, नेकपा र राप्रपाका उम्मेदवार भन्दा दलमा बढी मत, काँगेंस र एमालेको दल भन्दा उम्मेदवारको बढी मत

-


     पोखरा क्लिक     
     फागुन २५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २५, फागुन,

कास्कीमा रास्वपा, नेकपा र राप्रपाका उम्मेदवारले भन्दा दलमा बढी मत आएको छ भने काँगेंस र एमालेको दल भन्दा उम्मेदवारको पक्षमा बढी मत आएको छ । कास्की क्षेत्र नम्बर १, २ र ३ मा अघिल्लो पटकका प्रमुख राजनीतिक दलहरू एमाले र काँगेंसले यसपालीको प्रतिनिधि सभा सदस्यको लागि भएको निर्वाचनबाट पाएको मत विवरणले धेरै ठाउँमा समानुपातिकतर्फ भन्दा प्रत्यक्ष बढी मत आएको देखाएको छ ।

कास्कीका तीन वटै क्षेत्रमा अधिकांश दलहरूका लागि समानुपातिक मत प्रत्यक्ष भन्दा बढी देखिएको छ, भने केही दलमा प्रत्यक्ष मत अगाडि देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कास्की क्षेत्र नम्बर १, २ र ३ मा गरी समानुपातिकतर्फ १ लाख १३ हजार ६२८ मत प्राप्त गरेको छ । रास्वपाले प्रत्यक्षतर्फ १ लाख ८ हजार ५४४ मत ल्याएको छ । यस अनुसार समानुपातिकमा ४ हजार ८४ मत बढी आएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानले बताउनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ ६ हजार ४६६ मत प्राप्त गरेको छ भने प्रत्यक्षतर्फ ४ हजार २७ मत ल्याएको छ । यहाँ समानुपातिकमा २ हजार ४३९ मत बढी आएको छ । त्यसै गरी नेकपाको समानुपातिकतर्फ ५ हजार ७६३ मत प्राप्त गर्दा प्रत्यक्षतर्फ ५ हजार २११ मत ल्याएको छ । यहाँ प्रत्यक्षमा भन्दा समानुपातिक अर्थात दलमा ५ सय ५२ मत बढी आएको देखिन्छ ।

यसैबिच, यस अघिका ठुला दल मध्यको नेकपा (एमाले) ले प्रत्यक्षतर्फ कास्कीमा कुल २५ हजार ४९१ मत प्राप्त गरेको छ भने समानुपातिकतर्फ २४ लाख ५६२ मत पाएको छ । यस अनुसार एमालेले समानुपातिकमा १ हजार ६२९ मत बढी ल्याएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।नेपाली कांग्रेस ले समानुपातिकतर्फ २८ हजार ६५६ मत प्राप्त गरेको छ भने प्रत्यक्षतर्फ ३० हजार ४२४ मत ल्याएको छ । यसमा प्रत्यक्षमा १ हजार ८३८ मत बढी देखिन्छ । प्रत्यक्षतर्फ १ लाख ८८ हजार ७६ मत खसेको थियो। कुल मतदाता संख्या ३ लाख ८ हजार ५ सय ७२ रहेकोमा १ लाख ८० हजार ७ सय ३४ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भइसकेका छन्। गनेस पौडल कास्की–१, उत्तम पौडेल कास्की–२ र बिना गुरुङ कास्की–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।