
दीननाथ बराल,
पोखरा, फागुन १९,
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार एक छिनको हतारले करिब तीन घण्टा तनाव सिर्जना भयो । शंकास्पद वस्तुका रूपमा भेटिएको झोला अन्ततः निर्वाचनमा खटिएका कर्मचारीको भएको पुष्टि भएपछि अवस्था सामान्य भएको छ ।
पोखरा महानगरपालिका–६, लेकसाइडस्थित स्ट्रिट नम्बर ४१ को लालुपाते मार्गमा रहेको एक टेलरिङ पसलमा पूर्वाह्न करिब ११ बजे अज्ञात व्यक्तिले झोला राख्नु भएको थियो । पसल सञ्चालकले नराख्न आग्रह गर्दा पनि एक व्यक्तिले हतारमा झोला छाडेर पामेमा गएर बेलुका आउछु भन्दै हतार हतार गर्दै वाइकमा हिडे पछि केहीबेरमा झोलाबाट धुवाँजस्तो ग्यास निस्किन थालेपछि पसल संचालक सन्तोष परियार त्रसित भई झोला सटर बाहिर फालेर प्रहरीलाई खबर गर्नु भएको थियो ।
घटनाको सूचना पाएलगत्तै प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर क्षेत्रलाई सिल गरेको थियो। करिब तीन घण्टा कडा सुरक्षा व्यवस्थाका बीच शंकास्पद वस्तु निस्तेज पार्ने तयारी भइरहेका बेला झोलाधनी स्वयं घटनास्थलमा आईपुग्नु भएको हो । प्रहरीका अनुसार उक्त झोला तालवराही माविमा निर्वाचनका लागि खटिएका कर्मचारी चेतबहादुर कार्कीको रहेको पुष्टि भएको छ । उहाँ पोखरा महानगर पशु सेवा कार्यालय, विरौटामा कार्यरत कर्मचारी हुनुहुन्छ । हतारमा झोला पसलमा राखेर ‘बेलुका आउँछु’ भन्दै निस्किएका कार्की सामाजिक सञ्जालमा सोही क्षेत्रमा शंकास्पद झोला भेटिएको खबर देखेपछि झोला खोज्दै पसलमा फर्किनु भएको हो ।
कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार झोलामा बम नभई पशु कृत्रिम गर्भाधान (आर्टिफिसियल इन्सेमिनेशन) का लागि प्रयोग हुने लिक्विड नाइट्रोजन रहेको पुष्टि भएको छ । “निस्तेज पार्ने अन्तिम तयारी भइरहेका बेला झोलाधनी आएपछि झोला परीक्षण गर्दा बम नभएको पुष्टि भयो,” बस्नेतले जानकारी दिनुभयो । पशु प्राविधिक सुरेश श्रेष्ठका अनुसार उक्त लिक्विड नाइट्रोजन माइनस १९६ डिग्री सेल्सियस तापक्रममा रहने पदार्थ हो, जुन वीर्य सुरक्षित राख्न प्रयोग गरिन्छ । “रेफ्री (नाइट्रोजन राख्ने भाँडो) ठोक्किए वा घोप्टिएमा ग्यास बाहिर निस्कन सक्छ, तर यसले विष्फोट वा क्षति पु¥याउँदैन,” उहाँले स्पष्ट पार्नुभयो ।
झोलाधनी कार्कीले हतारका कारण झोला छाडेर जाँदा यस्तो अवस्था सिर्जना भएको भन्दै क्षमायाचना गर्नु भएको छ ्। यद्यपि, स्थानीयले भने जबरजस्ती झोला राखेर गएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको थियो । झोला लिन आउनु भएएको कर्मचारी माथि हातपात गर्न खोज्दा सुरक्षाकर्मीले बचाउनु भएको थियो । घटनापछि झोला जिम्मा लगाइएसँगै क्षेत्रको अवस्था सामान्य बनेको छ । कास्की प्रशासनले निर्वाचनका क्रममा जिल्लामा सुरक्षा व्यवस्था चुस्त रहेको दोहो¥याउँदै कुनै पनि शंकास्पद वस्तु भेटिएमा तत्काल प्रहरीलाई खबर गर्न र राख्ने व्यक्तिको पहिचान सुनिश्चित गर्न आग्रह गरेको छ । एक छिनको असावधानीले पर्यटकीय क्षेत्र लेकसाइडमा तीन घण्टा त्रास फैलाएको यो घटनाले संवेदनशील समयमा सचेतना र जिम्मेवारी कत्तिको आवश्यक हुन्छ भन्ने पाठ पनि सिकाएको छ ।च





