पोखरामा अवरोध भएको तेस्रो पटक फोहोर संकलन सुरु, दुर्गन्ध बढेपछि अबरोध गर्नेलाई कारबाही गर्ने महानगरको चेतावनी !

-


     पोखरा क्लिक     
     फागुन १९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १९, फागुन,

पोखरामा डेढ महिनादेखि थुप्रिएको फोहोर अन्ततः तेस्रो पटक फेरि उठ्न थालेको छ । पटक–पटक अवरोधका कारण रोकिँदै आएको फोहोर संकलन कार्य सोमबार साझदेखि पुनः सुरु गरिएको हो। मंगलबार बिहानसम्म १ सय ५० गाडी फोहोर उठाइसकिएको महानगरले पोखराक्लिकलाई जनाएको छ । बिहान केही समूहले पुनः अवरोध गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिएरै भए पनि फोहोर व्यवस्थापन अघि बढाइएको पोखराका मेयर धनराज आचार्यले बताए ।

उनले भने“फोहोरको दुर्गन्ध फैलिसकेको छ, पानी परिरहेको छ। यस्तो अवस्थामा हैजाजस्ता महामारी फैलन सक्छन्। महानगर चुप लागेर बस्ने कुरा भएन। सहमतिमै अघि बढेको काममा फेरि अवरोध हुनु दुःखद छ।” स्थानीय बासिन्दा र राजनीतिक दलहरूसँग समन्वय गरेर अस्थायी रूपमा व्यवस्थापन थालिएको बताउदै मेयर आचार्यले यो दीर्घकालीन समाधान नभई अस्थायी व्यवस्थापन मात्र भएको उल्लेख गर्दै तर जनस्वास्थ्यको सवालमा महानगर अब पछि नहट्ने जिकिर गरे ।

मेयर आचार्यले सामाजिक सञ्जालमार्फत पनि कडा चेतावनी दिएका छन्। सहमतिमा अघि बढेको फोहोर विसर्जन कार्यमा अवरोध नगर्न राजनीतिक दलका नेताहरूलाई आग्रह गर्दै अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनको स्पष्ट सन्देश छ। डेढ महिनादेखि नियमित फोहोर उठ्न नसक्दा बजार क्षेत्र, मुख्य चोक र सडक किनारामा थुप्रिएको फोहोरबाट दुर्गन्ध फैलिएको छ। गर्मी बढ्दै जाँदा र वर्षा हुन थालेपछि स्वास्थ्य जोखिमसमेत बढेको भन्दै महानगरले फोहोर संकलनलाई प्राथमिकतामा राखेको मेयर आचार्यले जनाए ।

हाल ३८ वटा फोहोर संकलन गाडी परिचालनमा छन्। बजार क्षेत्रमा करिब १ हजार ५ सय ट्रक बराबर फोहोर थुप्रिएको अनुमान गरिएको छ। महानगरले आज र भोलिसम्म अधिकतम फोहोर उठाइसक्ने लक्ष्य लिएको छ। बजारको फोहोर संकलन गरेसंगै फोहोर गाडीको रुट अनुसार घर घरमा फोहोर संकलन हुने भएको महानगरले जनाएको छ । महानगरले पुनः अपिल गरेको छ, घर तथा व्यवसायबाट निस्कने फोहोर सडक, चोक, बसपार्क, ताल–पोखरी र नदी किनारमा जथाभावी नफाल्न आग्रह गर्दै गाडीको पालो कुर्नु र कुहिने–नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको हो । फोहोर व्यवस्थापन जस्तो संवेदनशील विषयमा अनावश्यक राजनीति नगर्न र सहकार्य गर्न महानगरको आग्रह छ। यसैबिच, नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेल ले फोहोर व्यवस्थापन जस्तो संवेदनशील विषयमा अनावश्यक राजनीतिककरण नगर्न आग्रह गरे । दलहरूको दोहोरो चरित्र लज्जास्पद भएको टिप्पणी गर्दै उनले फोहोरमाथिको दुर्गन्धित राजनीति बन्द गर्न सामाजिक सञ्जाल सन्देश आग्रह गरे ।

त्यस्तै फोटो पत्रकार दुर्गा प्रसाद पौडेलले पोखरामा बढ्दो फोहोर व्यवस्थापन समस्याप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् ।
पोखरा महानगरपालिकाका सबै वडामा विभिन्न राजनीतिक दलका जनप्रतिनिधि रहेको स्मरण गराउँदै गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा मुख्यमन्त्री, प्रदेश प्रमुख, मन्त्री, जस्ता उच्च पदाधिकारी बसोबास गर्ने उल्लेख गरेका छन्।पौडेलले यस्तो महत्वपूर्ण सहरमा दीर्घकालीन फोहोर व्यवस्थापनको समस्या समाधान गर्न सम्बन्धित निकायले ठोस पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। “गन्हाएर बसिसक्नु भएन, केही उपाय त निकाल्नुहोस्,” भन्ने उनको आग्रह छ।
उनले निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा जनप्रतिनिधिहरूले नागरिकका आधारभूत समस्याप्रति संवेदनशील भई तत्काल समाधानतर्फ अग्रसर हुन आग्रह गरे ।