गण्डकी प्रदेशको निर्वाचनको तयारी अन्तिम चरणमा, कास्कीका ४ उम्मेदवारले बैंक खाता खोलेनन, ३ जनाको प्राविधिक समस्या (भिडियो सहित)

-


     पोखरा क्लिक     
     फागुन १७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १६, फागुन,

गण्डकी प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को अन्तिम तयारी तिव्र पारिएको छ । प्रदेशभर झण्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन गर्दै निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको गण्डकी प्रदेश निर्वाचन कार्यालयले आज(शनिबार पोखरामा आयोजना गरेको पत्रकार छलफल कार्यक्रममा जनाएको हो ।

यही फागुन १८ गतेभित्र सबै मतदान अधिकृत तथा सहायक अधिकृतसहितको टोली मतदान स्थलमा पुग्ने तयारी गरिएको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले जनाएको छ । गण्डकीका ११ जिल्लामा निर्वाचन आयोगसँग समन्वय र सहजीकरण गर्दै सम्पूर्ण व्यवस्थापनको काम अघि बढाएको प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । प्रदेशमा १ हजार २९७ मतदान स्थल र २ हजार ३९६ मतदान केन्द्र निर्धारण गरिएको छ । अस्थायी मतदाता २१ हजार ६९३ जना रहेका छन् भने १७ अस्थायी मतदान केन्द्र कायम गरिएको उहाँले जनाउनु भयो ।

प्रदेशका १८ निर्वाचन क्षेत्रमा ३० स्वतन्त्र उम्मेदवार सहित कुल २३४ जनाले उम्मेदवारी दिनु भएको प्रदेश निर्वाचन अधिकारी ढकालले बताउनु भयो । जसमध्ये २९ महिला र २०५ पुरुष उम्मेदवार रहनु भएको उहाँले जनाउनु भयो । सबैभन्दा बढी १८ राजनीतिक दलले कास्कीमा उम्मेदवारी दर्ता गराउनु भएको छ भने सबैभन्दा कम मनाङमा ३ दल मात्र प्रतिस्पर्धामा रहनु भएको छ । प्रदेशभर १४ हजार ३५० कर्मचारी र ७ हजार ६५ स्वयंसेवक खटिँदै छन् । ३ हजार मिटरभन्दा माथिका मतदान केन्द्रमा खटिने कर्मचारीका लागि गोरखा, म्याग्दी, मुस्ताङ र मनाङमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ । हिमाली क्षेत्रमा जाडो छल्न बाहिरिएका मतदाता पनि फर्कन थाल्नु भएको छ ।मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको शाङ्ता गाउँ (करिब ४,४०० मिटर उचाइ) र मनाङको नारफू गाउँपालिकाको नार र फू गाउँ (करिब ४,२०० मिटर उचाइ) मा हिमपातका कारण मतदान केन्द्र सार्नुपर्ने अवस्था आए पनि हाल मौसम सुधार भएसँगै बाटो खुलाएर तोकिएकै स्थानमा मतदान गर्ने सहमति भएको जनाइएको छ । मतपत्रसहितका सबै निर्वाचन सामग्री प्राप्त भई मतदान केन्द्रअनुसार छुट्याएर वितरणको तयारी अवस्थामा राखिएको छ । प्रदेशका सबै जिल्लामा वडास्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले जानकारी दिनुभयो ।

कास्की जिल्लामा ३ लाख ८ हजार ५७२ मतदाता रहेका छन् । जसमा १ लाख ६० हजार १५३ महिला, १ लाख ४८ हजार ४१५ पुरुष र ४ अन्य मतदाता छन् । कास्कीमा २ हजार ८६१ अस्थायी मतदाता रहेका छन् । जिल्लामा १५३ मतदान स्थल र ३६५ मतदान केन्द्र २ अस्थायी केन्द्रसहित निर्धारण गरिएको छ । कास्कीमा ६ स्वतन्त्र र ५ महिला उम्मेदवारसहित कुल ४९ जनाले उम्मेदवारी दिएका छन् । १८ दल सहभागी हुनुहुन्छ् । अस्थायी केन्द्रसहित २ हजार १८४ कर्मचारी र १ हजार ९२ स्वयंसेवक परिचालन हुनेछन् । कास्कीका प्रमुख निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निर्वाचनको अन्तिम तयारी पूरा भएको जनाउँदै निष्पक्ष र भयरहित मतदानका लागि सबैसँग सहयोगको आग्रह गर्नुभयो । उहाँका अनुसार मतदान अधिकृत र सहायक अधिकृतको तालिम सम्पन्न भइसकेको छ । सुरक्षा व्यवस्थातर्फ तीन घेराको सुरक्षा प्रबन्ध मिलाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । मतदान स्थलमा न्यूनतम ८ देखि ३० जनासम्म नेपाल प्रहरी, त्यसको बाहिरी घेरामा सशस्त्र प्रहरी र सबैभन्दा बाहिरी घेरामा नेपाली सेना परिचालन हुने व्यवस्था गरिएको छ । निर्वाचनलाई प्रभाव पार्ने कुनै गतिविधि भएमा कडा कारबाही गरिने जनाइएको छ ।

कास्कीमा हालसम्म लिखित उजुरी दर्ता नभए पनि ध्वनि प्रदूषण, झण्डा तथा राष्ट्रिय भण्डाको दुरुपयोग, भोजभतेर, २५ जनाभन्दा बढीको घरदैलो, चुनाव चिन्हको भौतिक प्रयोग, ब्याज तथा पहिरन प्रयोगलगायत विषयमा मौखिक तथा फोनमार्फत गुनासा आएको र त्यसबारे सचेत गराइएको कार्यालयले जनाएको छ । निर्वाचन खर्च व्यवस्थापनतर्फ ४९ उम्मेदवारमध्ये ४२ जनाले मात्र बैंक खाता खोल्नु भएको छ । ४ जनाले खाता खोल्न सिफारिस नै नलिएको र ३ जनाले सिफारिस लिए पनि पारिवारिक कारणले खाता सञ्चालन हुन नसकेको जनाइएको छ । आयोगले सबै उम्मेदवारलाई अनिवार्य रूपमा बैंक खाता मार्फत खर्च गर्न निर्देशन दिएको छ । प्रदेश निर्वाचन कार्यालयले निर्वाचनलाई सफल बनाउन निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, आम मतदाता तथा पर्यवेक्षण संस्थालाई आग्रह गरेको छ ।