
दीननाथ बराल,
पोखरा १६, फागुन
निर्वाचनको मिति नजिकै आउदा पोखरामा सहकारी पीडितहरु सडकमा उत्रिनु भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरू शनिबार सहकारी परिसरमा आन्दोलित हुदै सहकारीबाट ऋण लिएकाहरूलाई तत्काल रकम फिर्ता गर्न आग्रह गर्नु भएको छ ।
अब ढिलाइ गरे प्रतिवादीको रूपमा मुद्दा अघि बढाइने सहकारी संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठले शनिबार पोखरामा आयोजित छलफलमा चेतावनी दिनु भएको हो । “तपाईंहरूले सकेसम्म छिटो ऋण चुक्ता गर्नुहोस्, नत्र हामी कानुनी प्रक्रियामा जान बाध्य हुन्छौं,” उहाँले बताउनु भएको हो । पोखरा बागलुङ बसपार्कस्थित सहकारी परिसर अगाडि भेला भएका पीडितहरूले “सहकारी ठगलाई मत दिन सक्दैनौं” भन्दै राजनीतिक दलहरूलाई समेत चेतावनी दिनु भएको हो । “चुनाव जित्ने–हार्ने, पार्टी फेर्ने जो भए पनि अब हामी सहकारीको ऋण लिनेहरूलाई छोड्दैनौं,” श्रेष्ठले भन्नुभयो, “ऋणीहरूले नसके सहकारीमै आएर सरसल्लाह गरून्, हामी बचतकर्ता र ऋणीलाई राखेर हिसाब मिलान गर्न तयार छौं ।”
संघर्ष समितिका अनुसार हालसम्म कर्जा असुली अभियान मार्फत ८० लाख रुपैयाँ संकलन गरिएको छ । तर ५ प्रतिशत मात्र बचत फिर्ता गर्न पनि ४ देखि ५ करोड रुपैयाँ आवश्यक पर्ने अवस्था रहेको श्रेष्ठले जानकारी दिनुभयो । सहकारीमा करिब १८ हजार ७ सय बचतकर्ता प्रभावित भएको दाबी गर्दै १ हजार १ सय ५७ जना जाहेरी दिएका पीडितलाई पहिलो प्राथमिकतामा राखेर न्यूनतम ५ प्रतिशत रकम वितरण गर्ने योजना बनाइएको उहाँको भनाइ छ । “यदि तपाईंको दुई लाख बचत फिर्ता लिनु छ भने सोही बराबरको ऋणी ल्याउनुहोस्, हामी दुबैलाई राखेर हिसाब मिलान गरिदिन्छौं,” श्रेष्ठले भन्नुभयो, “ऋणबाटै बचत फिर्ता गराउने अहिलेको व्यवहारिक उपाय यही हो ।”
पीडितहरूले सहकारी रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत आरोपित रहेको विषयमा दलहरूले सार्वजनिक ग्यारेन्टी गर्नुपर्ने माग गर्नुभयो । “घोषणापत्रमा लेखेर मात्रै हुँदैन, स्थानीय तहबाटै हामीलाई प्रत्यक्ष प्रतिवद्धता चाहिन्छ,” पीडितहरूको भनाइ छ । सूर्यदर्शन सहकारीमा १ अर्ब ५० करोड रुपैयाँ अपचलन आरोपसहित मुद्दा दायर भएको छ, जसमध्ये १ अर्ब १५ करोड बिगो किटानी जाहेरीमा उल्लेख छ । पोखरा–१२ माटेपानीकी प्रमिला शर्मा, पोखराका प्रेमबहादुर राना, रुपातालका नन्दबहादुर थापा लगायतले आफुहरुले बुढेसकालको सहारा होस र घर खर्च चलाउन सहज होस भनेर ऋण धन गरेर जम्मा गरेको बचत रकम सहकारीबाट फिर्ता नहुने ठुलो आर्थिक समस्या जसले सामाजिक र मानसिक तनाव बनाएको गुनासो गर्नुभयो ।
शर्माले सूर्यदर्शन र पोखरा सहकारीमा गरी करिब १४ लाख रुपैयाँ बचत गरेकी थिइन् भने रानाले ३३ लाख रुपैयाँ सहकारीमा बचत गर्नु भएको थियो । उक्त रकम अभावले उहाँहरुलाई हाल जे जस्तो समस्या भएको छ कास्कीका सहकारी पितिहरुको प्राय यस्तै समस्याले पिडित हुनु भएको गुनासो गर्नुहुन्छ । चारै तर्फ चुनावको माहोल भए पनि उहाँहरुलाई चुनाव प्रति खासै चासो नभएको जनाउनु हुन्छ ।



