इरानमाथि अमेरिका–इजरायलको संयुक्त आक्रमण, ७० जनाको मृत्यु, नेपालमा पनि असर पर्न सक्ने शंकेत

-


     पोखरा क्लिक     
     फागुन १६ गते २०८२ मा प्रकाशित


काठमाडौं,

अमेरिका र इजरायलले इरानविरुद्ध व्यापक सैन्य आक्रमण सुरु गरेका छन् । राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो विस्फोट भएको बताइएको छ । त्यसपछि इरानका विभिन्न सहरका सैनिक अखाडा र मिसाइल संरचनामा आक्रमण गरिएको विभिन्न समाचार एजेन्सिहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा ‘इरानमा प्रमुख लडाइँ अपरेसनहरू’ सुरु गरिएको दाबी गरेका छन् । उनले इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको आरोप लगाए ।

मिनाव र जास्कमा कम्तीमा ७० जनाको मृत्यु– इरानका मिनाव र जास्क सहरमा भएको अमेरिकी–इजरायली आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आक्रमणपछि इरानभर इन्टरनेट सेवा लगभग पूर्ण रूपमा अवरुद्ध भएको खबर छ । इरानका परराष्ट्र मन्त्री अब्बास अराघचीले संयुक्त आक्रमणलाई ‘पूर्णतः विनाकारण र अवैध’ भन्दै कडा प्रतिक्रिया दिएका छन् । इरानले ‘क्रूर प्रतिशोध’ दिने चेतावनीसमेत दिएको छ ।

इजरायलमा आपतकाल, हवाई क्षेत्र बन्द– इरानले दर्जनौँ क्षेप्यास्त्र इजरायलतर्फ प्रहार गरेको छ । इजरायली रक्षा बल ९आईडीएफ० ले प्रहार पुष्टि गर्दै आफ्नो मिसाइल रक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ । नागरिकलाई मोबाइल अलर्टमार्फत तत्काल आश्रय लिन निर्देशन दिइएको छ ।इजरायलले देशव्यापी आपतकाल घोषणा गर्दै अस्पतालहरूलाई भूमिगत सुविधामा सार्ने तयारी गरेको छ । इजरायल, इरान र इराकले आफ्ना हवाई क्षेत्र बन्द गरेका छन् भने व्यावसायिक उडानहरू स्थगित भएका छन् ।

मध्यपूर्वभर तनाव फैलिँदै-अमेरिकाले कतार, युएई, बहराइन, सिरिया, जोर्डन, साउदी अरेबिया र इराकमा पनि सैन्य गतिविधि तीव्र पारेको बताइएको छ । केही देशहरूले आफ्ना हवाई अड्डा अस्थायी रूपमा बन्द गरेका छन् । भारतबाट युएईतर्फ जाँदै गरेको एक उडान फिर्ता भारतमै फर्काइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनको परराष्ट्र मन्त्रालयले इरानको सार्वभौमसत्ताको सम्मान गर्न र तत्काल युद्धविराम गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्र सङ्घ, रुस, अष्ट्रेलिया, बेलायत तथा युरोपेली संघका देशहरूले पनि दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

नेपालमा पनि असर– मध्यपूर्वमा विकसित घटनाक्रमको असर नेपालमा पनि देखिन थालेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले केही अन्तर्राष्ट्रिय उडानहरू रद्द हुनसक्ने जनाउँदै यात्रुलाई सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरेर मात्र विमानस्थल आउन आग्रह गरेको छ । शनिबार दिउँसोदेखि मध्यपूर्वका देशतर्फ जान लागेका धेरै यात्रु विमानस्थलमा अलपत्र परेका छन् । खाडी मुलुकहरू—कुवेत, यूएई, इराकलगायत—ले यात्रा सचेतना जारी गरेका छन् ।

व्यापक द्वन्द्वको संकेत– विश्लेषकहरूले यो घटनालाई इरान र इजरायलबीचको प्रत्यक्ष सैन्य द्वन्द्वतर्फको गम्भीर कदमका रूपमा लिएका छन् । आणविक वार्ता र क्षेत्रीय शक्ति सन्तुलनको तनावबीच भएको यो आक्रमणले मध्यपूर्वमा ठूलो युद्धको जोखिम बढाएको आकलन गरिएको छ । अन्तर्राष्ट्रिय समुदायले नजिकबाट निगरानी गरिरहेको यो संकट अब कता मोडिने हो भन्नेमा विश्वको ध्यान केन्द्रित भएको छ ।



This will close in 20 seconds