
पोखरा,
पोखरामा जारी चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ अन्तर्गत सेमीफाइनल चरणको समिकरण पूरा भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको आयोजना तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो दिन शनिबारका खेल सम्पन्न भएसँगै अन्तिम चार टोलीको टुंगो लागेको हो ।
सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगलका अनुसार प्लस–२ तर्फ बाराही आवासीय माध्यमिक विद्यालय, चिल्ड्रेन लाइफ बोर्डिङ स्कूल, स्टेप बाई स्टेप सेकेन्डरी स्कूल तथा डायमण्ड सेकेन्डरी स्कूल सेमीफाइनलमा प्रवेश गरेका छन् । त्यसैगरी कलेजतर्फ इन्फरमेटिक्स कलेज, लेकसिटी कलेज, इन्फोम्याक्स र पिसिएम कलेज अन्तिम चारमा स्थान बनाउन सफल रहे ।क्वार्टरफाइनल अन्तर्गत बराही आवासीय माविले न्यू ओएसिस एकेडेमीलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमीफाइनल यात्रा तय गर्यो । चिल्ड्रेन लाइफ बोर्डिङ स्कूलले प्रतिभा सेकेन्डरी स्कूलमाथि ६–० को सहज जित निकाल्यो । स्टेप बाई स्टेपले फिस्टेल एकेडेमीलाई ८–३ गोलले हरायो भने डायमण्ड सेकेन्डरी स्कूलले बाल कल्याण माविलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यस्तै, आइतबार बिहान पहिलो सेमीफाइनल खेलमा चिल्ड्रेन लाइफले बाराही माविको सामना गर्ने छ भने दोस्रो खेलमा स्टेप वाइ स्टेप र डायमण्ड मावि सेमीफाइनलमा आमने–सामने हुनेछन् । त्यस्तै सेमीफाइनलका बिजेता टोली भोली नै दिउसो २ बजे हुने उपाधिका लागि भिडने छन् ।
कलेज समूहमा इन्फरमेटिक्स कलेजले पोखरा लिंकन कलेजलाई २–१ ले पराजित गर्यो । लेकसिटी कलेजले गेन्स कलेजलाई १–० गोलले हरायो भने पिसिएम कलेजले सोच कलेज अफ आईटीलाई समान १–० ले स्तब्ध पार्यो । अर्को खेलमा इन्फोम्याक्सले पोखरा इन्जिनियरिङ कलेजलाई ६–३ गोलले हराउँदै सेमीफाइनल यात्रा तय गर्यो । आइतबार बिहान हुने सेमीफाइनलमा इन्फरमेटिक्सले पिसिएम सँग तथा लेकसिटीले इन्फोम्याक्स विरुद्ध सेमीफाइनलमा भेट पक्का गरेका छन् । विश्वविद्यालयतर्फ फाइनल खेल दिउसो १ बजे हुने छ । प्रतियोगितामा प्लस–२ तर्फ विभिन्न जिल्लाबाट छनोट भएका १६ टोली तथा ९विश्वविद्यालय०कलेजतर्फ ८ टोली गरी कुल २४ टोलीको सहभागिता रहेको थियो । हिसान गण्डकीका अध्यक्ष डा।रामजी शर्माका अनुसार प्लस–२ समूहमा कास्कीबाट ८ टोली, बागलुङबाट ३ टोली, तनहुँबाट ३ टोली तथा पर्वत र म्याग्दीबाट समान १–१ टोली सहभागी रहेका थिए । प्रतियोगिताको प्लस–२ तर्फ विजेता टोलीले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र पाउनेछन् । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै विश्वविद्यालय तथा कलेजतर्फ विजेताले नगद २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । अघिल्लो संस्करणमा प्लस–२ तर्फ गुरुकुल विद्या सदन तथा कलेजतर्फ इन्फरमेटिक्स कलेजले उपाधि जितेका थिए ।



