कास्की कांग्रेसले शुक्रबार पोखरामा शक्ति प्रदर्शन गर्ने(भिडियो) एक सय बसमा कार्यकर्ता उतार्ने

-


     पोखरा क्लिक     
     फागुन १३ गते २०८२ मा प्रकाशित


पोखरा, १३ फागुन,

नेपाली काँग्रेस कास्कीले यही फागुन १५ गते शुक्रबार पोखरामा आयोजना गर्न लागेको चुनावी सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार सह–संयोजक दीपक गुरुङ (माइला) ले सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार अमरसिंह चौर मा हुने चुनावी सभामा करिब १५ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।

कास्की कांग्रेसले उक्त सभालाई शक्ति प्रदर्शनका रूपमा लिँदै एक सय बस बुकिङ गरी नेता तथा कार्यकर्तालाई पोखरामा उतार्ने तयारी गरेको जनाएको छ। गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई एउटै मञ्चमा सहभागिता गराउने योजना रहेको पार्टीका अध्यक्ष किशोरदत्त बरालले बताए। प्रदेश राजधानीसमेत रहेको पोखरामा हुने उक्त सभामा गण्डकी प्रदेशका उम्मेदवारहरूको एक मिनेट अवधिको परिचयात्मक भिडियोसमेत प्रदर्शन गरिने जनाइएको छ। ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने मूल नारासहित आयोजना हुने सभा दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रम छ। सभालाई नेपाली काँग्रेसका सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्मा ले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार सह–संयोजक गुरुङले जानकारी दिए।

बदलिएको कांग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिने उद्देश्यले सभा आयोजना गरिएको जनाइएको छ। सभालाई व्यवस्थित रूपमा सम्पन्न गर्न नेपाली काँग्रेसका महासमिति सदस्य दीपक गुरुङ (माइला) को संयोजकत्वमा मूल समिति गठन गरिएको छ। समितिका सदस्यहरूमा माया बराल क्षेत्री, दुर्गा लामिछाने, मदन बस्नेत, पुजन थकाली, विजय गुरुङ र मेख तामाङ रहेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ मा तिलक रानाभाट, क्षेत्र नं. २ मा माधव प्रसाद बास्तोला ‘मधु’ र क्षेत्र नं.३ मा मनोज गुरुङ उम्मेदवार रहेका छन्।