उपचारका लागि सहयोग रोक्न फुटवलर साम्बाको आग्रह, २४ घण्टामै एक करोड भन्दा बढी सहयोग संकलन,

-


     पोखरा क्लिक     
     फागुन १२ गते २०८२ मा प्रकाशित


दीननाथ बराल
पोखरा १२, फागुन

चोटका कारण लामो समयदेखि मैदान बाहिर रहेकी नेपाली राष्ट्रिय महिला टोलीका कप्तान सावित्रा भण्डारी (साम्बा)  को उपचारका लागि अभूतपूर्व आर्थिक तथा नैतिक सहयोग प्राप्त भएको बताएकी छन् । उनले पछिल्लो २४ घण्टामै प्राप्त साथ, विश्वास र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब सहयोग रकम रोक्न आग्रह गरिन् ।

उनले सामाजिक सञ्जाल मार्फत भावुक सन्देश जारी गर्दै उपचारका लागि आवश्यक रकम पर्याप्त संकलन भइसकेको जानकारी दिएकी हुन् । उनका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी प्लेटफर्ममा करिब ४५ लाख नेपाली रुपैयाँ जम्मा भएको छ। यसका साथै विभिन्न संघ–संस्था तथा प्रायोजक संस्थाहरूले नगद तथा अन्य सुविधा सहयोगको प्रतिबद्धता जनाएका छन्। उनले उपचारका क्रममा कतारमा बसोबास, आवास तथा यातायात खर्चसमेत जुट्ने अवस्था बनेको उल्लेख गर्दै आजैबाट दुवै खातामा सहयोग रकम जम्मा नगर्न अनुरोध गरेकी हुन् । कतारमा रहेका विभिन्न व्यक्तित्व तथा संस्थाबाट समेत सहयोगको वाचा प्राप्त भएको साम्बाले बताइन् ।

हाल उनी अष्ट्रेलियास्थित क्लब ध्भििष्लनतयल एजयभलष्हसँग आबद्ध छन्। उक्त क्लबले शल्यक्रिया तथा पुनर्स्थापनाका लागि बीमा रकम निकासा गर्नुका साथै थप सहयोग गरेर उपचार प्रक्रियामा सहजीकरण गरिरहेको जनाइएको छ। चाँडै नै शल्यक्रियाको मिति तय हुनेमा उनी विश्वस्त देखिन्छिन् । खेलाडीले चोटले आफूलाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि थकाएको स्वीकार गर्दै तर समर्थकको साथ र विश्वासले पुनः उठ्ने साहस दिएको उल्लेख गरिन् । साम्बालले अझ सशक्त रूपमा मैदानमा फर्कने दृढता व्यक्त गरिन् ।

“खेलाडीका रूपमा मैले कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा वा उपाधि होइन, तपाईंहरूको माया, भरोसा र समर्थन हो,” उनले सन्देशमा उल्लेख गरेकी छन् । पुनः नेपालको जर्सी लगाएर देशका लागि खेल्ने प्रतिबद्धता दोहोर्‍याउँदै उनले आफ्नो वास्तविक धन्यवाद पुनरागमनबाटै व्यक्त गर्ने बताइन् । उनको सन्देशपछि सामाजिक सञ्जालमा शुभकामना र समर्थनका सन्देशहरू ओइरिएका छन्। समर्थकहरूले उनको शीघ्र स्वास्थ्यलाभ र सफल पुनरागमनको कामना गरेका छन्।