
पोखरा,
कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले हल्ला र भीडमा होइन, एजेण्डा र परिणाम खोज्न आफु लाग्ने बताएका छन् । पोखरा–९ बसपार्कमा सम्पर्क कार्यालय स्थापना गरी घरदैलो गर्दै गरेका उनले आफू हल्ला र भीडमा होइन, एजेण्डा र परिणाम खोज्न लाग्ने बताएका हुन् ।
उम्मेदवार गुरुङले आइतबार पोखरा–१६ मा घरदैलो गरेका छन् । सरकारको नीति निर्माणमा सघाइरहेका जलवायु परिवर्तन तथा नवीकरणीय ऊर्जा विज्ञ गुरुङले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई आत्मसात गर्दै आफैं नीति बनाउने ठाउँमा पुग्न उम्मेदवारी दिएको बताए । जेनजी आन्दोलन कुनै पार्टीनिकटको नभइ देशमा रुपान्तरण र सुशासन चाहने नवयुवाको नेतृत्वमा भएको उल्लेख गरेका छन् । घरदैलोको क्रममा भेटिएका सुन्दर गुरुङले यसपटक मतादाताले हल्ला र भीडमा हेरेर नभई राम्रो व्यक्तिको छनौट गर्ने जनाए । घरदैलोमा भेटिएकी माया अधिकारीले पनि यस क्षेत्रका मुद्धा उठान गर्न सक्ने, नीतिगत तहबाट बहस गर्न सक्ने उम्मेदवारको खोजि भएको बताइन् ।
कास्की क्षेत्र नम्बर २ का मतादाताले आफूलाई हौसला दिइरहेको र परिवर्तनको आशा जगाएको उम्मेदवार गुरुङले जनाए । ‘पोखराजस्तो सहरलाई कसरी व्यवस्थित बनाउने, यहाँका जलवायु परिवर्तनका असर कम गर्नेदेखि कसरी उत्पादन बढाउनेसम्म, पर्यटन र ऊर्जामार्फत गर्न सकिने विकासलाई प्रतिवद्धतापत्रमा हेरेर मत दिने विश्वास जगाएका छन्,’ उनले भने, ‘मतादाता कुनै दलको बहकाउमा होइन, आफ्नै विवेक प्रयोग गरेर हाल्छन् भन्ने बुझाएका छन् ।’ बेलायतको एडिनबर्ग विश्वविद्यालय–व्यवस्थापन विद्यालयको १०० वर्षको इतिहासको उत्कृष्ट १०० भूतपूर्व विद्यार्थी परेका कुशलले नेपाल फर्किएर जलवायु परिवर्तन र ऊर्जाका क्षेत्रमा सरकारसँग मिलेर काम गरिरहेका थिए । जेनजी आन्दोलनपछि कुलमान घिसिङको नेतृत्वमा राजनीतिमा होमिँदै कास्की–२ मा उनले उम्मेदवारी दिएका हुन् ।




