
दीननाथ बराल
पोखरा, ८ फागुन
प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र सुदृढीकरण तथा सुशासनको लागि यही फागुन २१ हुने निर्वाचनमा सबै जना सक्रिय रुपमा सहभागि हुन आव्हान गर्नु भयो । पोखरा विश्वविद्यालय को २१ औँ दीक्षान्त समारोहलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै विश्वविद्यालयकी कुलपति समेत रहनु् भएको प्रधानमन्त्री कार्कीले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्धन तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निर्वाचन अत्यन्त महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै निर्वाचनमा सबै सक्रिय रुपमा सहभागि हुन आह्वान गर्नु भएको हो ।

प्रधानमन्त्री कार्कीले युवा पुस्तालाई भविष्यका राजनेता, नीति–निर्माता र समाज रूपान्तरणका संवाहकका रूपमा चित्रित गर्दै जिम्मेवारीबोध, इमान्दारी र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो । गत भदौ २३ र २४ गते जेन–जी युवाले उठाएका सवालहरू गम्भीर र आधारभूत प्रकृतिका रहेको उल्लेख गर्दै उहाँले आत्ममूल्यांकनको आवश्यकता औँल्याउनुभयो ।
लोकतान्त्रिक प्रक्रियामा सक्रिय र जिम्मेवार सहभागिताका लागि सबै नागरिकलाई शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित नभई समाज र राष्ट्र रूपान्तरणको आधार बन्नुपर्ने उहाँको भनाई थियो । प्रधानमन्त्री कार्कीले समकालीन आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता र नवप्रवर्तनमुखी शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले ज्ञानलाई अर्थतन्त्र सुदृढीकरण र मानव कल्याणसँग प्रत्यक्ष जोड्न नसके पाठ्यक्रम सान्दर्भिक नहुने स्पष्ट पार्नुभयो। दीक्षार्थीलाई सम्बोधन गर्दै उहाँले प्राप्त प्रमाणपत्र केवल रोजगारीको आधार नभई समाजका जटिल समस्या समाधान गर्ने क्षमताको प्रतीक भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले अध्ययन पूरा गर्नासाथ ठूलो सङ्ख्यामा युवा विदेशिनु चिन्ताको विषय भएको उल्लेख गर्दै बदलिँदो विश्व परिवेशमा प्रतिस्पर्धी र सक्षम बन्न विश्वविद्यालय र विद्यार्थी दुवै सचेत हुनुपर्ने धारणा राख्नुभयो। “परिवर्तनलाई अवसरका रूपमा उपयोग गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्नु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो । स्थापनाकालदेखि व्यवस्थापन र विज्ञान लगायतका क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तारमा विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले अब गुणस्तर अभिवृद्धि र विश्व बजारको मागअनुसार जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्नेमा जोडदिनुभयो ।





