
पोखरा,
आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ मा नेपालको यात्रा आज (आइतबार) दुई पटकको च्याम्पियन इंग्ल्यान्डविरुद्धको खेलबाट सुरु हुँदैछ। भारत र श्रीलंकामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले बलियो टेस्ट राष्ट्र इंग्ल्यान्डसँग पहिलो पटक अन्तर्राष्ट्रिय भेट गर्दैछ।
विश्वकपको उद्घाटन दिन शनिबार सम्पन्न तीन खेलमा एसोसियट टोलीहरूले टेस्ट राष्ट्रलाई कडा चुनौती दिएका थिए। नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज र अमेरिकाले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि नेपालबाट पनि ‘सरप्राइज’को अपेक्षा बढेको छ। इंग्ल्यान्ड जस्तो शक्तिशाली टोलीविरुद्ध मैदान उत्रँदै गरेको नेपाली टोली केही विशेष गर्ने लक्ष्यका साथ आत्मविश्वासमा देखिएको छ। नेपाली राष्ट्रिय टोलीका पेस बलर सोमपाल कामीले विश्वकपअघि नै इंग्ल्यान्डलाई नेपालले ‘अपसेट’ गर्न सक्ने बताएका थिए। “इंग्ल्यान्ड हरेक विश्वकपमा कुनै न कुनै अप्रत्याशित टोलीसँग पराजित हुने गरेको छ, यसपटक त्यो टोली नेपाल पनि हुन सक्छ,” सोमपालले भनेका थिए।
आईसीसी टी–२० वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डविरुद्धको खेल नेपालका लागि चुनौतीपूर्ण भए पनि सम्भावनाविहीन भने होइन। तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको नेपालले यसअघिका दुई संस्करणमा समूह चरण पार गर्न सकेको थिएन। यसपटक भने कम्तीमा दुई खेल जित्दै सुपर–८ पुग्ने लक्ष्य नेपाली टोलीले बनाएको छ। समूह चरणका चार खेलमध्ये इंग्ल्यान्डसँगै जित निकाल्न सके आगामी खेलका लागि नेपाली टोलीको मनोबल निकै उच्च हुने विश्वास गरिएको छ।
पहिलो भेट, तयारीमा आत्मविश्वास
नेपाल र इंग्ल्यान्डबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो भेट हो। इंग्ल्यान्डले विश्वकपअघि श्रीलंकाविरुद्धको टी–२०आई शृंखला जितेर प्रतियोगितामा प्रवेश गरेको छ। नेपालले भने मुम्बईमा भएको अभ्यास खेलमा एमसीए प्रेसिडेन्ट्स इलेभेनलाई हराउनुका साथै क्यानडा र यूएईविरुद्धको वार्मअप खेलमा जित निकाल्दै राम्रो तयारी देखाएको थियो। नेपाल टी–२० विश्वकपमा १२ वर्षपछि पहिलो जितको खोजीमा छ भने इंग्ल्यान्ड आफ्नो दबदबा कायम राख्ने लक्ष्यमा हुनेछ।
काठमाडौं र पोखरामा लाइभ स्क्रिन
नेपाल–इंग्ल्यान्डको खेल काठमाडौं र पोखरामा ठूलो स्क्रिनमा प्रत्यक्ष हेर्न सकिने भएको छ।
आइतबार सिफल ग्राउन्ड, चाबहिलमा दिउँसो ३ः१५ बजेदेखि खेल लाइभ स्क्रिनमा देखाइने आयोजकले जनाएको छ। दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने उपस्थित हुने पहिलो एक हजार दर्शकलाई एक्स्ट्रिम एनर्जी ड्रिंक निःशुल्क वितरण गरिनेछ। ‘नेपालको खेल, नेपालको जोश’ नारासहित आयोजना हुने उक्त कार्यक्रममा स्टेडियमजस्तै माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।
यस्तै, पोखरामा पनि प्रचार नेपालको व्यवस्थापनमा एक्स्ट्रिम एनर्जी ड्रिंक्सले लेकसाइडको हल्लनचोकस्थित क्याम्पिङ ग्राउण्डमा ठूलो स्क्रिन र साउण्डसहित नेपालका खेलहरू प्रत्यक्ष देखाउने भएको छ। पोखरा इन्टरनेटले कार्यक्रमलाई सहयोग गरेको छ।
समूह ‘सी’ मा नेपाल
२० टोली सहभागी विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ। समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड छन्। नेपालले इंग्ल्यान्डसँग आइतबार खेलिसकेपछि फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालका सबै समूह चरणका खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछन्।
विश्वकपको संरचना
विश्वकपमा कुल ५५ खेल हुनेछन्। भारतका पाँच र श्रीलंकाका तीन गरी आठवटा स्टेडियममा प्रतियोगिता सञ्चालन हुनेछ। समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–८ मा प्रवेश गर्नेछन्। सुपर–८ फेब्रुअरी २२ देखि सुरु हुनेछ भने सेमिफाइनल मार्च ४ र ५ मा तथा फाइनल मार्च ८ मा आयोजना हुने तालिका छ । नेपालका लागि यो विश्वकप केवल सहभागिता मात्र नभई इतिहास रच्ने अवसर पनि हो। इंग्ल्यान्डविरुद्धको खेलले नेपालले विश्व क्रिकेटमा आफूलाई कत्तिको सक्षम बनाएको छ भन्ने प्रमाण दिने अपेक्षा गरिएको छ।




