
पोखरा,
खेलकुदको शहर पोखरामा आउदो शनिबार (फागुन २ गते) हुने सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथन अन्तर्गत शनिबार ह्वीलचियर र दृष्टिविहीन् दौड प्रतियोगिता सम्पन्न भएका छन् । शनिबार पोखरा रंगशालामा सम्पन्न दृष्टिविहीन दौड प्रतियोगितामा पुरुषतर्फ लमजुङका विसु तामाङ प्रथम, म्याग्दीका सोनम विक द्वितीय र स्याङ्जाका युवराज भण्डारी तृतीय भए ।
दृष्टिविहीन दौड प्रतियोगितामा महिलातर्फ स्याङ्जाकी देवी बराल प्रथम, पोखरा अमरसिंहकी शर्मिला सुनार द्वितीय र कास्कीकै कृष्टिना पौडेल तृतीय भईन् । त्यस्तै, ह्वीलचेयर दौडमा पुरुषतर्फ कास्कीका भरत अधिकारी प्रथम, तनहुँका जीवन श्रेष्ठ द्वितीय र कास्कीकै सुरेश गौली तृतीय भए । ह्वीलचेयर दौड महिलातर्फ स्याङ्जाकी पुनम विक प्रथम र कास्कीकी अञ्जु बराल द्वितीय भए ।
दृष्टिविहीन तथा ह्वीलचेयर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्राप्त गरेको प्राविधिक ओम गुरुङले बताए । प्रतियोगितालाई नेपाली सेना पश्चिम पृतनापती उपरथी भोलानाथ थापाले पुरस्कार वितरण गरेका थिए । शारीरिक अपाङगता भएका व्यक्तिहरुको खेलकुदमा पहुच पुर्याउन आयोजकले गरेको उक्त कार्यक्रम निकै प्रशंसनीय भएको जनाए । सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनको ग्राण्ड ईभेन्ट भने फागुन २ गते हुने आयोजक नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले बताए । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले जनाए ।




