आहा रारा पोखरा गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी पुरस्कार प्रायोजन

-


     पोखरा क्लिक     
     माघ २४ गते २०८२ मा प्रकाशित


पोखरा,

२५ औं संस्करणको आहा रारा पोखरा गोल्कडप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पुरस्कार प्रायोजनको सम्झौता भएको छ । आयोजक सहारा क्लब पोखरा र टेल–जी नेपालबीच सो सम्बन्धमा सम्झौता भएको हो । क्लबका तर्फबाट अध्यक्ष केशवबहादुर थापा र टेल–जी नेपालका तर्फबाट निर्देशक सञ्जीव सिल्पकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार सर्वोत्कृष्ट खेलाडीलाई दिइने पुरस्कारवापत दुवै पक्षले आधा–आधा व्ययभार व्यहोर्नेछन् ।


यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा संचालन हुने प्रतियोगितामा १२ टिमले भाग लिउँदैछन् । यसैबीच, प्रतियोगितालाई चरक मेमोरियल हस्पिटल प्रालिले प्रतियोगितामा सह–उपप्रायोजकरुपमा सघाउने भएको छ । अस्पतालका तर्फबाट डाइरेक्टर कपिल पोखरेल र प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
त्यसैगरी, प्रभू इन्सुरेन्स लिमिटेड पोखराले इन्सुरेन्स पार्टनर बनेको छ । सहमतिअनुसार प्रतियोगितामा सहभागी खेलाडी, अफिसियललाई जनही २ लाखको दुर्घटना बिमा सेवा उपलब्ध हुनेछ । सो सम्बन्धमा क्लब अध्यक्ष केशवबहादुर थापा र बिमा संस्थाको तर्फबाट रवीन्द्र श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

२५ औं संस्करणलाई नयाँ दिन आयोजकले फ्लड लाइट जडान गरेर रातिमा समेत खेल खेलाउँदैछ । त्यसका लागि मात्रै करिब २० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । आयोजकले यसपालि पुरस्कार राशिसमेत बढाएको छ । प्रथम र दोस्रो पुरस्कारको धनराशि वृद्धि गरी क्रमशः १४ लाख र ७ लाख रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता सधैं झैं हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजक रहेको छ । सहारा क्लब पोखराले आयोजना गर्ने यो प्रतियोगिता नेपालको फुटबल इतिहासमा निरन्तर भएको एकमात्र प्रतियोगिता हो । सहाराले कठिन परिस्थिति तथा विपन्न वर्गका बालकलाई आवासीय सुविधासहित फुटबल सिकाउँदै आएको छ । हाल चौंथो ब्याचमा १६ जिल्लाका ३० जना बालक सूर्यबहादुर केसी सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित छन् । फुटबल प्रतियोगिताको आम्दानी एकेडेमीका लगानी हुँदै आएको छ ।