बगैँचा स्पोर्टस् मिट २०८२ सम्पन्न, २६ समूहमा ७९ बाबुनानी पुरस्कृत

-


     पोखरा क्लिक     
     माघ २३ गते २०८२ मा प्रकाशित


पोखरा, २३ माघ,

पोखराको बगैँचा मन्टेश्वरी प्री–स्कुलद्वारा आयोजित बगैँचा स्पोर्टस् मिट २०८२ सम्पन्न भएको छ । माघ १८ देखि २३ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको स्पोर्टस् मिटमा १० प्रकारका मनोरञ्जनात्मक खेलहरू समावेश गरिएका थिए । प्रतियोगितामा २६ समूहका ७९ जना बाबुनानीहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

स्पोर्टस् मिटका विजेता बाबुनानीहरूलाई पोखरा महानगरपालिका वडा नं। १५ का कार्यवाहक वडाध्यक्ष बलराम पौडेल, पोखरा–१० का वडा सदस्य पूर्ण न्यौपाने तथा बालविकास विज्ञ प्रभा भुजेलले मेडल र प्रमाणपत्र प्रदान गरे । समापन समारोहमा बोल्दै कार्यवाहक वडाध्यक्ष पौडेलले खेलकुदले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । खेलकुदले शारीरिक तन्दुरुस्ती, आत्मविश्वास र सक्रिय जीवनशैली विकासमा सहयोग पुर्‍याउने उहाँको भनाइ थियो ।

वडा सदस्य न्यौपानेले खेलकुदमार्फत बालबालिकामा अनुशासन, एकाग्रता, सहकार्य, नेतृत्व र भावनात्मक सन्तुलनको विकास हुने उल्लेख गरे । हार–जितलाई सहज रूपमा स्वीकार गर्ने क्षमता विकासमा खेलकुद महत्वपूर्ण हुने उनले बताए । बालविकास विज्ञ प्रभा भुजेलले साना बालबालिकाको सर्वाङ्गीण विकासमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने भन्दै घरमै अध्ययनमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । मन्टेश्वरीकी संस्थापक प्रिन्सिपल रञ्जता रेग्मीले पढाइ र खेलकुदबीच सन्तुलन कायम गर्दै विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासमा मार्गदर्शन गरिरहेको बताए । बाबुनानीहरूले प्रदर्शन गरेको अनुशासन, धैर्यता र आत्मविश्वास प्रशंसनीय रहेको उउनको भनाइ थियो । स्पोर्टस् मिटमा बल कलेक्टिङ, फ्रग जम्प, कलर म्याचिङ, रेडी फर स्कुल, बलुन ब्यालेन्सिङ, सेप गेम, हिट द टावर, सेक रेस लगायतका खेलहरू सञ्चालन गरिएका थिए । समापन अवसरमा बाबुनानीहरूले नृत्य तथा योग प्रस्तुति पनि दिएका थिए ।