फोटो पत्रकार अक्षयकोषमा नागरिक अभियान्ता रामबहादुर पौडेलको सहयोग

-


     पोखरा क्लिक     
     माघ २३ गते २०८२ मा प्रकाशित


पोखरा, २३ माघ,

नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा नागरिक अभियान्ता रामबहादुर पौडेलले आर्थिक सहयोग गरेका छन् । नागरिक अधिकार, सुशासन र पारदर्शिताका विषयमा आवाज उठाउने पौडेलले कोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।पोखरा महेन्द्रपुलस्थित फल्चामा शुक्रबार भएको फोटो प्रदर्शनीमा अभियान्ता पौडेलले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण पछि अभियान्ता पौडेलले जोखिम मोलेर कार्यक्षेत्रमा खटिने फोटो पत्रकारहरूका लागि स्थापित यो कोषले भोलिका दिनमा अप्ठ्यारो पर्दा सारथि बन्ने बताए । सहयोग ग्रहण पछिएनपिजेए कास्की अध्यक्ष राम गुरुङले अभियान्ता पौडेललाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।

कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ । यस कोषमा यसभन्दा अघि सामाजिक अभियान्ता सरिता गुरुङले १५ हजार, सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् । यसैबिच, एनपिजेए कास्कीको आयोजना र सहरा क्लब पोखराको आयोजनामा शुक्रबार भएको फोटो प्रदर्शनी भव्यताका साथ सकिएको छ । प्रदर्शनीमा सहारा क्लबको आयोजनामा आहा रारा पोखरा गोल्ड कपको सुरुदेखिका अविस्मरणीय क्षणहरू समेटेरे १ सय वटा फोटो प्रदर्शन गरिएको थियो ।

२०५८ सालमा क्याराभान गोल्ड कपबाट सुरु भएको प्रतियोगिता २५ वर्षमा आइपुगेको छ । यो वर्षको प्रतियोगितामाघ २७ गतेबाट पोखरा रंगशालामा सुरु हुँदैछ । प्रदर्शनीमा राखिएको फोटोहरु आहा ! रारा पोखरा गोल्डकपको दौरान माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा पनि प्रदर्शन गरिने एनपिजेए कास्कीका अध्यक्ष गुरुङले जानकारी दिए । शुक्रबार प्रदर्शनीमा छुटेकाहरु प्रतियोगिता अवधिभर रंगशाला परिसरमा पुगेर उक्त फोटोहरुअवलोकन गर्न सक्ने उनले बताए ।