नमस्ते ब्याण्डको १९ औँ महाशिवरात्रि विश्वसंगीत महोत्सव फागुन ३ गते पोखरामा हुने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     माघ २३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २३ माघ

नमस्ते ब्याण्डको ३७ औँ वार्षिक उत्सव तथा नेपाल–जापान मैत्री सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा आउदो फागुन ३ गते पोखरामा १९औँ महाशिवरात्रि विश्वसंगीत महोत्सव हुने भएको छ । महाशिवरात्रि पर्वको अवसरमा उक्त महोत्सव काठमाडौँ फागुन १ मा र पोखरामा फागुन ३ गते हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

चलचित्र पत्रकार संघ कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त महोत्सवको बारेमा जानकारी गराउदै कार्यक्रम संयोजक एवं चर्चित गायक ईश्वर गुरुङले कर्मथलो विदेश भए पनि नेपाली कला, संस्कृति र संगीतको उत्थानका लागि आफूले वर्षेनी नेपालमा विभिन्न सांगीतिक कार्यक्रम निरन्तर आयोजना गर्दै आएको बताउनुभयो। पोखरा–२२ पुम्दीभुम्दी निवासी गुरुङ लामो समयदेखि जापानमा बसोबास गर्दै आउनु भएको छ ।

“नेपाली संगीतलाई विश्वसामु चिनाउने अभियानमा नमस्ते ब्याण्ड निरन्तर लागेको छ,” उहाँले भन्नुभयो, “महाशिवरात्रि विश्वसंगीत महोत्सवले स्वदेशी तथा विदेशी कलाकारलाई एउटै मञ्चमा उभ्याउँदै आपसी सद्भाव, मित्रता र भाइचाराको सन्देश प्रवाह गर्नेछ।” नेपाली पहिचान, नेपाली संगीत, कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय सांस्कृतिक आदान–प्रदानलाई थप मजबुत बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संयोजक गुरुङले जनाउनु भयो ।

फागुन ३ गते आइतबार पोखराको लेकसाइडस्थित क्याम्पिङ चोकमा विशेष कार्यक्रम आयोजना गरिनेछ भने मार्च महिनामा जापानको टोकियोमा कार्यक्रमको समापन गरिने छ । महोत्सवमा नेपालका चर्चीत व्याण्ड नमस्तेदेखि लेकालि, डिएनएक्स, द मंगोलियन हार्ट लगायत जापानसहित विभिन्न देशका चर्चित कलाकार तथा ब्याण्डहरूको सहभागिता हुने भएको छ ।पत्रकार भेटघाट कार्यक्रममा निर्वाचनको समय परेकाले कार्यक्रम आयोजना गर्न प्रशासनबाट आवश्यक अनुमति लिइएको जानकारी पनि आयोजकले दिएका छन्। चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

नमस्ते ब्याण्ड विगत २६ वर्षदेखि नेपाल र जापानलाई सांगीतिक माध्यमबाट जोड्दै आएको संस्थाका रूपमा परिचित छ । महोत्सवले नयाँ पुस्तामा सांगीतिक हस्तान्तरण गर्नुका साथै नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइ दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।