कास्कीका तीनै क्षेत्रमा कांग्रेसको उम्मेदवार टुंगियो

-


     पोखरा क्लिक     
     माघ ६ गते २०८२ मा प्रकाशित


पोखरा,

अन्ततः नेपाली कांग्रेसले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाउँदै नाम सार्वजनिक गरेको छ । अन्य दलहरूले उम्मेदवार घोषणा गरिसकेपछि कांग्रेसले अन्तिम चरणमा आएर आफ्ना उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।

कांग्रेसबाट कास्की क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा माधव बास्तोला ‘मधु’ र क्षेत्र नम्बर ३ मा मनोज गुरुङले टिकट पाएका छन् । ढिलै भए पनि कांग्रेसले तीनै क्षेत्रमा उम्मेदवार तय गरेपछि चुनावी गतिविधि थप सक्रिय हुने देखिएको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि अन्तिम समयमा आएर कास्की क्षेत्र नम्बर ३ को उम्मेदवारमा हेरफेर गरेको छ । यसअघि सार्वजनिक गरिएको प्रेम पौडेलको स्थानमा अन्तिम समयमा गोपाल गिरीलाई टिकट दिइएको छ ।

नेकपाबाट कास्की क्षेत्र नम्बर १ मा राजकाजी गुरुङ ‘करण’ र क्षेत्र नम्बर २ मा हेमबहादुर थापा उम्मेदवार रहेका छन् ।
कास्कीका तीनै क्षेत्रमा प्रमुख दलहरूले उम्मेदवार टुंग्याएसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने अपेक्षा गरिएको छ ।