कास्कीमा नेकपा र एमाले को उम्मेदवार टुंगो

-


     पोखरा क्लिक     
     माघ ४ गते २०८२ मा प्रकाशित


पोखरा,

गण्डकी प्रदेशको राजधानी जिल्ला कास्कीमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमाले ले उम्मेदवारको टुंगो लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले र नेकपा एमालेका तीनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार तय गरेका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य वामपन्थी घटकहरू मिलेर बनेको नेकपाले कास्की–१ मा राजकाजी गुरुङ ‘करण’, कास्की–२ मा किरण थापा ‘आमोद’ र कास्की–३ मा प्रेम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ करण माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धदेखि नै कास्कीको संगठन निर्माणमा सक्रिय रहँदै आएका नेता हुन् । उनी २०६४ सालको संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भई संसदीय राजनीतिको अनुभव हासिल गरिसकेका छन् ।

कास्की–२ का उम्मेदवार किरण थापा ‘आमोद’ जनयुद्धकालमा जनमुक्ति सेनाका कमाण्डर समेत थिए । विद्यार्थी राजनीतिबाट उदाएका थापा डा. बाबुराम भट्टराईसँगै नयाँ शक्ति पार्टी र पछि जनता समाजवादी पार्टीमा केन्द्रीय भूमिकामा सक्रिय थिए । नेकपामा समाहित भएपछि उनी पहिलो पटक उम्मेदवार बन्दैछन् । कास्की–३ बाट उम्मेदवार बनेका प्रेम पौडेल नेकपा एकीकृत समाजवादीका नेता तथा पोखरामा निर्माण सामग्री व्यवसाय गर्दै आएका छन् । अन्नपूर्ण गाउँपालिका–४ सल्यानका स्थायी बासिन्दा पौडेल पछिल्लो समय पोखरामा बसोबास गर्दै आएका छन् ।

यसैबिच, नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट बैनबहादुर अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अधिकारी एमाले कास्कीका जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका पूर्व प्रमुख हुन् । कास्की–२ बाट एमालेले कृष्ण थापालाई अघि सारेको छ । थापा पूर्व पोखरा महानगरपालिकाका मेयर, गण्डकी प्रदेश सभा सदस्य तथा पार्टीका पुराना नेता हुन् । क्षेत्र नम्बर ३ बाट दामोदर पौडेल बैरागी उम्मेदवार बनेका छन् । बैरागी विघटित प्रतिनिधिसभाका सदस्य तथा २०७९ को निर्वाचनमा विजयी सांसद हुन् ।