
दीननाथ बराल,
पोखरा ४, माघ,
यही माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखरास्थित मिडटाउन सिनेमाज मा आज (आइतबार) आयोजित हल भिजिट तथा साक्षात्कार कार्यक्रममा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र सृष्टी श्रेष्ठ सहभागी हुनु भएको हो ।
कार्यक्रममा उपस्थित दर्शकहरूले सिनेमाप्रति दिएको प्रतिक्रिया अत्यन्तै सकारात्मक देखिएको उहाँहरुले जनाउनु भयो । साक्षात्कारका क्रममा अधिकांश दर्शकले सिनेमाको कथावस्तु मन परेको प्रतिक्रिया दिएका दिनुभएको थियो । समय सान्दर्भिक विषयवस्तु, पारिवारिक कथा र सामाजिक सन्देशले आफूहरूलाई छोएको दर्शकको भनाइ थियो। हल भिजिटपछि कलाकारहरूसँग फोटो खिच्दै प्रतिक्रिया दिँदा दर्शकहरू उत्साहित र खुशी हुनु भएको थियो ।
यसै अवसरमा चलचित्र पत्रकार संघ नेपाल, कास्की द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता सौगात मल्लले ‘भाइरल गोर्खे’ ले देशभर राम्रो प्रतिक्रिया पाइरहेको बताउनु भयो । “अहिले भाइरलको जमाना छ, विशेषगरी टिकटकमार्फत। यही समसामयिक विषयलाई आधार बनाएर यो सिनेमा निर्माण गरिएको हो ।” उहाँले भन्नुभयो । सौगातले सिनेमाको छायांकन लमजुङ जिल्लाको भुजुङ गाउँ मा गरिएको जानकारी दिँदै गोरखा क्षेत्रका सुन्दर भूगोललाई सिनेमामा समेटिएको जनाउनु भयो । ग्रामीण परिवेश र आधुनिक प्रवृत्तिको संयोजनले दर्शकलाई फरक अनुभूति दिएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।
अभिनेत्री सृष्टी श्रेष्ठ पनि ‘भाइरल गोर्खे’ बाट सन्तुष्ट भएको देखिनु भयो । दर्शकले आफ्नो अभिनयलाई रुचाएको प्रतिक्रिया पाउँदा खुशी लागेको बताउँदै उहाँले कथावस्तु समय सान्दर्भिक भएकाले हलमा दर्शकको आकर्षण क्रमशः अझै बढ्दै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । “कथा राम्रो लागेकै कारण म यो सिनेमामा अनुबन्धित भएकी हुँ,” उहाँले भन्नुभये । पोखराबाट आफू निकै आशावादी भएर फर्किएको उहाँको भनाइ थियो। निगम श्रेष्ठ को कथा तथा निर्देशनमा बनेको ‘भाइरल गोर्खे’ मा सौगात मल्ल, सृष्टी श्रेष्ठ, रिसी धमला, बुद्धी तामाङ, लक्ष्मी गिरी लगायत कलाकारहरूको अभिनय रहेको छ । समय सान्दर्भिक विषयवस्तु र सामाजिक सन्देश बोकेको यस सिनेमाले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमको दाबी छ ।
चलचित्र पत्रकार संघ नेपाल, कास्की का अध्यक्ष सन्तोष बस्याल को अध्यक्षतामा कार्यक्रम भएको हो । च‘भाइरल गोर्खे’ का निर्देशक निगम श्रेष्ठ हुनुहुन्छ भने अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको सिनेमाका सहनिर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुनुहुन्छ । अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमाको छायांकन लमजुङको भुजुङ गाउँ, गोरखा र चितवन मा गरिएको हो। सिनेमाका वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, सम्पादक बन्दे प्रसाद, रवि चौधरी र भीम विश्वकर्मा रहनु भएको छ ।





