
दीननाथ बराल,
पोखरा, २७ पुस,
पोखरामा आज (आइतबार) ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । नागरिक मूल समारोह समिति २०८२, कास्कीले कास्की जिल्लाका ५० भन्दा बढी सामाजिक, धार्मिक, शैक्षिक तथा पेशा–व्यवसायगत संघ–संस्थाहरूको सहभागितामा विविध कार्यक्रम सहित पृथ्वी जयन्ती मनाएको हो ।
आइतबार बिहान मानवअधिकार चोक (चिप्लेढुंगा) बाट शोभायात्रा सुरु भएको थियो भने शोभायात्रामा पञ्चेबाजा, भजन–चुड्का, झाँकी तथा नाचगानसहितको शोभायात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै पृथ्वीचोक पुगेर मूल समारोहमा परिणत भएको कार्यक्रम संयोजक भोलाजंग सुवेदीले बताउनु भयो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरिनुका साथै प्राज्ञिक व्यक्तित्वहरूबाट उहाँको योगदान, राष्ट्रिय एकता र राष्ट्र निर्माणमा निर्वाह गर्नुभएको भूमिकामाथि विचार–विमर्श गरिएको उहाँले जनाउनु भयो ।
मौलिक रैथाने इतिहासका ज्ञाता तथा अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघ धर्मसभाका अध्यक्ष गुरु वलभद्रनाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो । मार्गनिर्देशक ठाकुरप्रसाद बरालले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पु¥याएको योगदान कहिल्यै भुल्न नहुने स्मरण गराउँदै इतिहासप्रति सम्मान र राष्ट्रिय एकताको भावना सुदृढ गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनु भयो ।
नागरिक मूल समारोह समिति कास्कीले राष्ट्रिय एकता दिवसका अवसरमा पोखरामा आयोजना भएको कार्यक्रममा सहभागिहरुको उपस्थिती उल्लेखनिय रहेको सचिव भूपेन्दू गिरीले बताउनु भयो । उहाँले पृथ्वीनारायण शाहले विश्वको राजनीतिक मानचित्रमा नेपाललाई स्वतन्त्र, सार्वभौम र एकीकृत राष्ट्रका रूपमा स्थापित गर्न पु¥याउनुभएको योगदान अतुलनीय रहेको स्मरण गर्नुभयो ।




