फेवाताल संरक्षणमा प्रदेश सरकार अब याक्सनमा जानेः मुख्यमन्त्री पाण्डेको भनाई

-


     पोखरा क्लिक     
     पौष २ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २ पुस

पोखराको पर्यटकीय गन्तव्य फेवातालको अस्तित्व र सौन्दर्य जोगाउन प्रदेश सरकार अब याक्सनमा उत्र्रिने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षण अभियान अन्तर्गत तालको ६५ मिटरभित्र बनेका संरचना हटाउने कार्य अब नीतिगत छलफलमै सीमित नरही प्रत्यक्ष कार्यान्वयनमा जाने स्पष्ट संकेत दिनुभएको छ ।

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले फेवातालको सीमा निर्धारण टुंगो लागेपछि अब दोस्रो चरणको काम सुरु हुने उल्लेख गर्नुभयो । उहाँका अनुसार हटाउने प्रक्रिया सर्वसाधारणबाट होइन, पहिलो चरणमै सरकारी संरचनाबाट थालिनेछ । “अब कुरा गर्ने होइन, काम गर्ने बेला आएको छ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सरकारी संरचना हटाएर उदाहरण स्थापित गरिन्छ, त्यसपछि क्रमिक रूपमा अन्य संरचनातर्फ अघि बढिन्छ । फेवाताललाई साँच्चै हेर्नलायक बनाउने हाम्रो लक्ष्य हो ।”

अदालतको आदेशअनुसार ताल संरक्षण, हरियाली विस्तार र वातावरणीय सन्तुलन कायम गर्ने काम अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो । ताल वरिपरि हरियाली विकास गर्दै प्रदूषण नियन्त्रणमा समेत जोड दिइनेछ । मुख्यमन्त्री पाण्डेले पोखरालाई प्रदूषणमुक्त सहर बनाउने दीर्घकालीन लक्ष्यसहित एशियाली विकास बैंक (एडिबी) को सहयोगमा प्रदेश सरकार र पोखरा महानगरपालिकाको साझेदारीमा ठूला पूर्वाधार परियोजना अघि बढ्न लागेको जानकारी दिनुभयो । पर्यटनलाई केन्द्रमा राखेर पोखरामा दुई ठूला योजना कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको उहाँको भनाइ थियो ।

पर्यटन पूर्वाधार विस्तारतर्फ फेवातालको सिरान हर्पन क्षेत्रमा करिब १५–१६ करोड लागतमा ‘सेल्फी ब्रिज’ र रुपाताल क्षेत्रमा ‘ग्लास ब्रिज’ निर्माणको योजना रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले पोखरा आसपासका ११ पर्यटकीय गन्तव्यलाई ‘स्याटेलाइट डेस्टिनेसन’ को रूपमा विकास गरिने जानकारी दिनुभयो । “हिमाल र तालसँग जोडिएको पर्यटनबिना पोखराको सम्भावना पूरा हुँदैन,” उहाँले भन्नुभयो, “अब ताललाई परम्परागत डुंगामा मात्र सीमित राख्दैनौं, साहसिक जलक्रीडा, क्रुज र रेस्टुरेन्ट अवधारणासम्म विस्तार गरिन्छ ।” स्थापना दिवसको अवसरमा पोखरामा प्रभातफेरी, सांस्कृतिक झाँकी र विविध सम्मान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

वि.सं.२०१६ मा नगरपालिका रूपमा स्थापना भएको पोखरा २०७५ साउन २३ गते महानगरपालिका बनेको हो । ४६४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पोखरा भौगोलिक, सांस्कृतिक र प्राकृतिक विविधताका कारण देशकै प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित छ ।