
दीननाथ बराल,
पोखरा , २७, मंसिर,
नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनले सरकार परिवर्तन गराए पनि देशको सिस्टम र व्यवस्था परिवर्तन हुन नसकेको बताउनु भएको छ । उज्यालो नेपाल गण्डकी प्रदेश स्तरीय भेलालाई पोखरामा सम्बोधन गर्दै उहाँले सही समयमा सही व्यक्तिहरू नेतृत्वमा पुग्न नसक्दा देशमा अपेक्षित परिवर्तन र विकासले गति लिन नसकेको धारणा राख्नुभयो ।
मन्त्री घिसिङले देशमा वास्तविक परिवर्तन ल्याउन सही व्यक्तिहरूले सही ठाउँमा पुगेर नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । “सही व्यक्तिहरूले काम गरेर देखाएपछि मात्रै जनताले विश्वास गर्छन्,” उहाँले भन्नुभयो, “परिवर्तन एउटा क्षेत्र मात्रै उज्यालो भएर हुँदैन, समग्र प्रणाली परिवर्तन हुनुपर्छ ।” पोखराको सौन्दर्यता र कनेक्टिभिटीलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताउँदै मन्त्री घिसिङले बोलेर होइन, काम गरेर देखाउने समय आएको उल्लेख गर्नुभयो । पोखरामा पटक–पटक विद्युत् लाइन काटिने समस्या अब नदोहो¥याउने गरी व्यवस्थापनको काम अगाडि बढेको उहाँले जानकारी दिनुभयो । टेक्निकल समस्याहरू पहिचान गरेर समाधान गर्न निर्देशन दिइसकिएको उहाँको भनाइ थियो ।

पोखराका पोलहरूमा रहेका तारहरू अन्डरग्राउन्ड गर्ने, पोलहरू सारेर शहरलाई व्यवस्थित र सुन्दर बनाउने कामलाई नमुना परियोजनाका रूपमा अघि बढाइएको मन्त्री घिसिङले बताउनुभयो । पोखराको सौन्दर्यता निर्माणका विषयमा दीर्घकालीन सोचसहित योजना कार्यान्वयन भइरहेको उहाँले स्पष्ट पार्नुभयो । सडक पूर्वाधारतर्फ पोखरा–मुग्लिन सडकखण्ड स्तरोन्नति अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले पोखरा–सिद्धार्थ राजमार्गलाई ६ घण्टाको यात्रा ३–४ घण्टामा झार्ने लक्ष्यसहित काम भइरहेको बताउनुभयो । साथै, पोखरा–काठमाडौँ सडक स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइएको उहाँको भनाइ थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा मन्त्री घिसिङले निर्माण सम्पन्न भइसकेपछि त्यसबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कनेक्टिभिटी विस्तार गर्न सके पोखरामा पर्यटक आगमन उल्लेखनीय रूपमा बढ्ने उहाँको विश्वास छ ।
ठेक्का अलपत्र छाड्दा रोजगारी सिर्जना नहुने उल्लेख गर्दै मन्त्री घिसिङले आर्थिक विकास बिना रोजगारी सम्भव नरहेको बताउनुभयो । विकासका क्रममा चुनौती लिनैपर्ने धारणा राख्दै उहाँले भोट बैंकको डरले विकास रोकिन नहुने स्पष्ट पार्नुभयो । “देश र समाजको हितका लागि कर्तव्यनिष्ठ भएर काम गर्नुपर्छ,” उहाँले भन्नुभयो । हेटौंडा सडकखण्ड विस्तारलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै मन्त्री घिसिङले लामो समयदेखि बन्न नसकेको सडक आफ्नो पहलमा सुरु भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार समस्यालाई बुझेर समाधान गर्नु नै असल राजनीतिज्ञको पहिचान हो । जेनजी आन्दोलनबारे बोल्दै मन्त्री घिसिङले सही नेतृत्व अघि नआउँदा विकास र समृद्धिले गति लिन नसकेको, बेरोजगारी बढेको र त्यसकै परिणामस्वरूप जेनजी आन्दोलन भएको बताउनुभयो । जनतामा निराशा र आक्रोश बढ्दै जाँदा त्यसले विस्फोटको रूप लिएको उहाँको तर्क थियो ।
बजेट विनियोजन जनचाहना र आवश्यकताका आधारमा हुनुपर्नेमा जोड दिँदै उहाँले भ्यु टावरभन्दा पुल, सिँचाइ जस्ता आधारभूत पूर्वाधारमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । सिँचाइ अभावका कारण किसान मर्कामा परेकाले सरकारले गम्भीरतापूर्वक समाधान गर्नुपर्ने उहाँले बताउनुभयो । पर्यटनको राजधानी पोखरामा पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री घिसिङले चीन र भारतजस्ता दुई शक्तिशाली छिमेकी देशसँग राम्रो सडक सञ्जाल र हवाई कनेक्टिभिटी विस्तार गर्न सके करोडौँ पर्यटक भित्र्याउन सकिने दाबी गर्नुभयो । पोखरामा प्रकृति, संस्कृति, वेलनेस र धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको उहाँले बताउनुभयो ।
घिसिङकै संरक्षकत्वमा गठन भएको उक्त पार्टीमा गण्डकी प्रदेशभरका युवाहरूको उल्लेखनीय उपस्थिति रहेको पार्टीका केन्द्रीय सदस्य कुशल गुरुङले जानकारी दिनुभयो । पार्टीका केन्द्रिय सदस्य एवं कलाकार रिमा विश्वकर्माले पोखरा विमान स्थल निर्माणका क्रममा ८ अर्ब भ्रष्टचार भएको बिषयले पोखरा नगरी हाल भ्रष्टचारी नगरको रुपमा परिचित भएको बताउनु भयो । कार्यक्रममा पोखराकी पर्यटन व्यवसायी लक्की क्षेत्रीले देशमा अहिलेसम्म विकास र समृद्धिका नारा मात्रै सुन्नुपरेको गुनासो गर्दै अब याक्सनका काम गर्ने नेतृत्वको खोजि भएको जनाउनु भयो ।





