एमाले सहित विभिन्न पार्टी परित्याग गरी दजनौँ व्यक्ति नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

-


     पोखरा क्लिक     
     मंसिर १४ गते २०८२ मा प्रकाशित


पोखरा,

पछिल्लो राजनीतिक परिवर्तनको क्रमसँगै विभिन्न राजनीतिक दल परित्याग गरी दजनौँ व्यक्तिहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। लामो समयदेखि मोहन वैद्य ‘विप्लव’ हुँदै धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय रहेका विनदास गोपालले प्रचण्ड नेतृत्वको पार्टीमा समाहित हुने घोषणा गर्दै सबै सहयोद्धा र सहकर्मीप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।

गोपालले विगत दशकभर राजनीतिक सहकार्य गर्दै आएका सम्पूर्ण कमरेडलाई आगामी दिनमा पनि संयुक्त रूपमा समाजवादी आन्दोलनमा साथ–सहयोग जारी राख्ने अपेक्षा व्यक्त गर्दै पुनः सहकार्यका लागि अनुरोध गरेका हुन् ।यही क्रममा पोखरा लेकसाइडका तुलसी दाहाल समेत नेकपा एमाले त्यागेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। पुराना यातायात व्यवसायी दाहाल डेढ दर्जन कार्यकर्तासहित पार्टीमा सामेल भएको घोषणा गर्दै प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाललगायत नेताले अविर र माला लगाएर स्वागत गरेका थिए।

यस प्रवेश कार्यक्रममा एमाले, कांग्रेस हुँदै विभिन्न राजनीतिक पृष्ठभूमिका दजनौँ व्यक्ति, जेन–जेड युवा कार्यकर्ता सहित, प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीलाई आफ्नो राजनीतिक गन्तव्य बनाएका छन्। पार्टी नेतृत्वले नयाँ प्रवेशलाई समाजवादी क्रान्ति र रूपान्तरणको अभियानलाई सबल बनाउन महत्वपूर्ण योगदानका रूपमा व्याख्या गरेको छ।