पुस पहिलो सातादेखि पोखरामा २१ औं लेखनाथ महोत्सव हुने, ३३५ स्टल रहने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     मंसिर ७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ७ मंसिर,

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ३ गतेदेखि २१ औँ संस्करणको लेखनाथ महोत्सव हुने भएको छ । पुस १४ गतेसम्म पोखरा–२७ तालचोकमा हुने उक्त महोत्सवमा व्यापारिक, कृषि ,उद्यमी, हस्तकला, सेवामुलक लगायतका ३ सय ३५ वटा स्टल रहनेछ भएको आइतबार लेखनाथमा आयोजित पत्रकार सम्मेलन मार्फत जनाएको हो ।

स्थानीय उत्पादन, कृषि सामग्री, महिला उद्यमीका सामग्रीदेखि औद्योगिक तथा हस्तकलाका वस्तुसम्मलाई एउटै थलोमा ल्याएर बजार प्रवद्र्धन गर्ने, उद्यमशीलता विकास गर्ने र पर्यटन आकर्षण बढाउने उद्देश्य यस वर्ष पनि महोत्सवलाई निरन्तरता दिन लागेको संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीले बताउनु भयो । लेखनाथ क्षेत्रको पहिचान तथा आर्थिक गतिविधिलाई अझ सुदृढ बनाउने उद्देश्यले २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएको महोत्सव अहिले प्रतिष्ठित महोत्सवका रूपमा विकसित भइसकेको उहाँको भनाई छ । आर्थिक चुनौतीका बीच पनि महोत्सवको तयारी अघि बढाइएको बताउँदै प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले बजारलाई चलायमानता गराउन, व्यवसायी र सर्वसाधारणको मनोबल उकास्ने तथा आपूर्ति व्यवस्था सहज बनाउन महोत्सव महत्वपूर्ण हुने बताउनु भयो ।

महोत्सवमा २ लाख ५० हजार भन्दा बढी दर्शक अवलोकन गर्न आउने अनुमान गरिएको छ । महोत्सवबाट करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । करिब ९५ लाख आम्दानी र ८५ लाख खर्च हुने अनुमान गर्दै करिब १० लाख रुपैयाँ सामाजिक उत्तरदायित्व, नवउद्यमी प्रोत्साहन तथा स्थानीय विकासका गतिविधिमा खर्च गरिने आयोजकले जनाएको छ । महोत्सवका आकर्षणमा औद्योगिक व्यापार प्रदर्शन, हस्तकला, कृषि तथा स्थानीय उत्पादन, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी, सूचना–प्रविधि तथा सञ्चारसम्बन्धी सामग्री, शिक्षा, स्वास्थ्य तथा खेलकुदसम्बन्धी स्टलसमेत रहनेछन् । महोत्सवमा बुद्धको प्रतिमा सहित पर्यटन प्रवद्र्धन कार्यक्रम, बिजनेस टक शो, मोटिभेसनल स्पिच, रित्यौली गीत कार्यक्रम, झाँकी प्रदर्शन, विद्यालयस्तरीय कार्यक्रम, टिकटक प्रतियोगिता, कन्टेन्ट क्रिएसन प्रतियोगिता, पप कन्सर्ट, लाइभ व्याण्ड, हास्यव्यंग्य, बाल उद्यान तथा खाना महोत्सव समेत आयोजना गरिनेछ । उत्कृष्ट स्टललाई यस वर्ष पनि विशेष सम्मान प्रदान गरिने भएको छ ।

मुख्य प्रायोजक गृहलक्ष्मी ग्यास कम्पनीका महाप्रबन्धक भीमराज लामिछानेले ग्यास प्रयोगमा अपनाउनुपर्ने सावधानी बारे जानकारी दिँदै सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । महोत्सव अवलोकन गर्नका लागि सर्वसाधारणले १०० रुपैयाँ, विद्यार्थीले ५० रुपैयाँ र बेलुका सुगम संगीत तथा कन्सर्टका लागि २०० रुपैयाँ तिर्नुपर्नेछ ।