
दीननाथ बराल,
पोखरा ६, मंसिर,
खेलकुदको शहर पोखरामा आउँदो माघ दोस्रो सातामा आयोजना हुने ‘छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप–२०८२’ मा मालदिभ्सको राष्ट्रिय भलिबल टोलीले सहभागिता जनाउने भएको छ । टाइगर ग्रुप अफ पोखराको आज (शनिबार) पोखरामा सम्पन्न भएको चौथो वार्षिक साधारण सभा उद्घाटनको अवसरमा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले उत्तः कुरा सार्वजनिक गर्नु भएको हो । आउँदो माघ ९ देखि १७ गतेसम्म पोखरामा हुने टाईगर कपमा मालदिभ्सको पुरुष तर्फको राष्ट्रिय टोली पोखरा आउने पक्का भएको उहाँले जनाउनु भयो ।
काभा भलिवल माल्दिप्स हुने तयारी गरे पनि पोखरामा आफुहरुले मागेको मितिमै नेपाल भलिवल संघको समेत प्रभावकारी ढंगले समन्वय गरेका कारण माघ ९ गतेबाटै हुने भएको उहाँले जनाउनु भयो । माल्दिप्समा माघ १३ देखि २५ गते हुने पूर्व मिति घोषणा गरिए पनि पोखरामा उक्त प्रतियोगिता गर्न माग भए बमोजिम काभा भलिवलको मिति सारेर माघ २५ देखि फागुन २ गतेसम्म हुने भएको अध्यक्ष शर्माले उल्लेख गर्नुुभयो । यस बर्षको महिला तथा पुरुष भलिवल खेलको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय टिम गरी न्यूनतम ६÷६ टिम सहभागि गराउने आयोजकले जनाएको छ । संस्थाले खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको सचिव डिबी नेपालीले बताउनु भयो ।
कार्यक्रमको उद्घाटन गर्दै मणिपाल शिक्षण अस्पतालका निर्देशक एवं अटो वेज प्रालिका कार्यकारी निर्देशक नारायण पौडेलले भलिबल खेलको विकास गर्न एक बिद्यालय एक भलिवल शिक्षक अभियान संचालन गर्नुपर्नेमा बताउनु भयो । छोटो समयमा नेपालको क्रिकेटले लिएको क्रेजको उदाहरण दिदै उहाँले पदकको सम्भावना र नेपालको राष्ट्रिय खेल भलिवल भएकोले यसको बिकास र विस्तारको लागि विद्यालय तहबाटै संस्थागत विकास गर्न ‘एक विद्यालय–एक भलिवल प्रशिक्षक’ अभियान अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उक्त अभियान टाइगर ग्रुपको पहलमा सुरु भए आफुहरु आबद्ध संस्थाले समेत साथ दिने उहाँले जनाउनु भयो ।
नेपाल भलिवल संघका केन्द्रीय सल्लाहकार हरिप्रसाद पराजुलीले पोखरामा भैरहेका प्रतिष्ठित खेलकुद कार्यक्रमहरूले पोखरामा खेल पर्यटनको प्रबद्र्धन गरेको बताउनु भयो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटाले मुटु रोगीको सचेतना सहितको स्वास्थ्य शिविरहरु आवश्यक भएकोले त्यसको लागि आउदो बर्षमा न्यूनतम ५ देखि १० लाख बजेट व्याबस्था गर्न आयोजक समक्ष आग्रह गर्नुभयो । सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले पोखरामा हुने खेलकुद गतिविधिहरुको मिति केन्द्रले राम्रोसंग समन्वय नहुदा यहाँ एकै मितिमा जुध्ने समस्या भएको गुनासो गर्नुभयो ।
कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले पाँचौं टाइगर कपबाट १ करोड ७१ लाख ८९ हजार ५ सय ७१ रुपैया आम्दानी भएको उक्त प्रतियोगिताबाट खर्च गरी २१ लाख १ हजार ६ रुपैया बचत भएको बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष देवेन्द्र केसी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था लगायतले भलिवल खेलको बारेमा चर्चा गर्नुभयो । संस्थाले प्रदेश खेलकुद परिषद गण्डकीलाई खेलाडी अक्षयकोषको लागि १ लाख ५० हजार सहयोग गरेको छ । आगामी फागुनमा मुस्ताङमा मुटु स्वास्थ्य अभिमुखिकरण कार्यक्रम आयोजना गर्ने भएको आयोजक संस्थाले पोखराक्लिकलाई जनाएको छ ।



