
दीननाथ बराल,
पोखरा, २ मंसिर,
साहसिक खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा पहिलो पटक नेशनल अटोक्रश च्याम्पियनसिप हुने भएको छ । पोखरा महानगरपालिकाको प्रबद्र्धनमा जायोन ओभरल्याण्डको आयोजना, मोटो स्पोटर््स क्लवको सहकार्य तथा नासा गण्डकीको समन्वयमा आउँदो पुष ११ गते उक्त प्रतियोगिता पोखरामा हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
आगामी संस्करणमा दुई वटा विधामा २४ कार वटा सहभागी हुने भएको नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठले बताउनु भयो । २००० सिसीभन्दा कम क्षमताका १२ र २००० सिसीभन्दा माथिका १२ गरी दुई विधामा प्रतिस्पर्धा हुने भएको हो । प्रतियोगिताले पोखरामा रहेका प्रतिभाशाली ड्राइभरलाई राष्ट्रिय प्लेटफर्म प्रदान गर्ने र मोटरस्पोट्र्स मार्फत गण्डकी प्रदेशको पर्यटन ब्रान्डिङमा सहयोग पुग्ने आयोजकको विश्वास लिएको छ । हालै पोखरामा हवाई बुगी सहितका साहसिक गतिविधि विस्तार हुँदै गएपछि पर्यटकका लागि नयाँ आकर्षक खेलकुद उत्पाद विकास गर्ने प्रयासका रूपमा यो च्याम्पियनसिपलाई अघि सारिएको श्रेष्ठको भनाई छ । पर्यटक तथा स्थानीय दुवैबीच साहसिक गतिविधि लोकप्रिय बन्दै गएको सन्दर्भमा मोटरस्पोट्र्स प्रतियोगिता पोखराको पर्यटनमा थप योगदान पुग्ने पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताउनु भयो ।
विश्वका विभिन्न मुलुकमा लोकप्रिय टाइम–अट्याक शैलीको यो मोटरस्पोट्र्स खेल कन्डोरसेशन इन्टरनेशनल डी’ अटोमोबाइल द्वारा मान्यता प्राप्त च्याम्पियनसिप हो । नेपालमा यसअघि काठमाडौँमा आयोजना भइसकेको थियो । सडक सुरक्षा, ट्रयाक नियन्त्रण तथा तिब्र–समय प्रतिस्पर्धालाई केन्द्रमा राखेर सञ्चालन हुने यो प्रतियोगिताले नेपाली ड्राइभरलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ । टाइम–अट्याक मोटरस्पोट्र्समा ड्राइभरले माटो, ग्राभल वा पिच ट्रयाकमा तयार गरिएका छोटा तर चुनौतीपूर्ण कोर्स सकेसम्म छिटो समयमै पूरा गर्नुपर्ने हुन्छ । छोटो दूरीमा समय र सटिकताका आधारमा विजेता निर्धारण हुने भएकाले यो विधा युवा र मोटर प्रेमीहरूबीच विशेष लोकप्रिय मानिन्छ ।





