सहारा एकेडेमीमा दुधजङ्ग गुरुङको सहयोग

-


     पोखरा क्लिक     
     मंसिर २ गते २०८२ मा प्रकाशित


पोखरा,

सहारा क्लब हङकङका सल्लाहकार दुधजङ्ग गुरुङले सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा २० हजार नगद सहयोग गरेका छन् । पोखराको माटेपानी घर भई हाल रोजगारी सिलसिलामा हङकङ बसोबास गर्दै आएका उनले एकेडेमी संयोजक विष्णु गुरुङ सो रकम हस्तान्तरण गरेका हुन् । साथै, उनले एकेडेमीका बालकहरुका लागि फलफूलसमेत प्रदान गरे ।

यसैबीच, सहारा क्लब पोखराले एकेडेमी सहयोग सञ्चालनार्थ गरेको च्यारिटी डिनर नाइटमा समेत उनले १० हजार सहयोग गरेका थिए । क्लबको उद्देश्यप्रति प्रभावित भई गुरुङले आगामी दिनमा पनि सहयोग निरन्तर गर्ने आश्वासन दिए ।
सहारा क्लब पोखराका पूर्व उपाध्यक्ष एवं सहारा क्लब हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङले समन्वय गरेको सो कार्यक्रममा सहयोगदातालाई वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ्ग, उपाध्यक्ष बिनु राना मगर र एकेडेमी संयोजक विष्णु गुरुङले संयुक्त रुपमा फूलगुच्छा र खादा लगाई स्वागत गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले सहयोगदाता एवं समन्वयप्रति धन्यवाद साथ हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि सहयोगी हात बढाउन अनुरोध गरे । सो अवसरमा कोषाध्यक्ष लिलबहादुर थापा, कार्यसमिति सदस्य अमरबहादुर राजभण्डारी, ज्योती केसी, विजय गुरुङ, शैलेश गुरुङ, पूर्व कार्यसमिति सदस्य रविन श्रेष्ठको उपस्थिति थियो । जाँदाजाँदै दुधजङ्ग गुरुङ र दीपक गुरुङले एकेडेमीका ३ जना कर्मचारीलाई प्रोत्साहनस्वरुप जनही १ हजार सहयोग गरे । कार्यक्रम संचालन क्लब महासचिव गंगाराज पौडेलले गरेका थिए ।सहारा क्लब पोखराद्वारा पोखरा–१७, दोबिल्लामा सञ्चालित एकेडेमीमा हाल ३० जना बालकहरु छन् ।