
पोखरा, १ मंसिर,
जेनजी आन्दोलनको कारण आन्तरिक राजस्व कार्यालय पोखराले यस बर्ष एक समारोहका बिच राष्ट्रिय कर दिवस–२०८२ पोखरामा मनाएको छ । अन्य बर्ष साप्ताहिक रुपमा एक साता विभिन्न कार्यक्रम गर्दै कर सप्ताह कार्यक्रम गर्दै आएको कार्यालयले यस बर्ष माथि केन्द्र्रबाट परिपत्र भए अनुसार सोमबार कार्यालय परिसरमै एक समारोहका बिच दुई करदातालाई सम्मान गर्दै कर दिवस मनाइएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुँगानाले पोखराक्लिकलाई बताए ।
नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते मनाइने कर दिवस यस वर्ष पनि निजी क्षेत्र, सरकारी अधिकारी र करदाताहरूको सक्रिय उपस्थितिमा मनाइएको उनले जनाए । कार्यक्रममा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले देश विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै व्यवसायीलाई प्रोत्साहित गर्ने करमैत्री वातावरण निर्माण गर्न राज्य जिम्मेवार बन्नुपर्ने धारणा राखिन्। उनले निजी क्षेत्रको मनोबल उच्च राख्ने र सहज व्यावसायिक वातावरण बनाउने कार्यमा प्रशासन निरन्तर अग्रसर रहने आश्वासन पनि दिइन्।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुँगानाले राजस्व प्रशासनलाई प्रविधिमैत्री र छरितो बनाउँदै करको दायरा क्रमशः विस्तार गरिने बताउँदै करदातालाई आर्थिक ऐन–२०८२ ले प्रदान गरेका छुट तथा सुविधाको लाभ समयमै लिन अपिल गरे। समारोहमा जिल्लास्थित विभिन्न उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स र पेशागत संगठनका प्रतिनिधिहरूले पछिल्ला आन्दोलनले व्यवसायमा परेको असर न्यूनीकरण गर्न सरकारबाट राहत प्याकेज अपेक्षित रहेको भन्दै निजी क्षेत्रलाई बलियो बनाउन राज्यको सक्रिय उपस्थितिको माग गरे।
यस वर्ष कर दिवसको अवसरमा कास्की जिल्लाबाट सबैभन्दा बढी आयकर तिरेको आरकेडी होल्डिङ्स लिमिटेड र स्याङ्जाबाट उत्कृष्ट करदाता खिलुङ कालिका कन्स्ट्रक्सन प्रालिलाई सम्मान गरिएको हो। कास्कीका करदातामध्ये सबैभन्दा बढी २ करोड १६ लाख ४९ हजार १ सय ४१ रुपैयाँ कर तिरेको आरकेडी र स्याङ्जामा ८५ लाख ८६ हजार ५ सय १४ रुपैयाँ कर तिरेको खिलुङ कालिकालाई दोसल्ला र प्रशंसापत्रसहित सम्मान प्रदान गरिएको हो।
सम्मानित आरकेडीका सञ्चालक रामचन्द्र शर्माले राज्यप्रति दायित्वबोध र व्यावसायिक संस्कारको विकासका लागि कर तिर्नु आवश्यक रहेको उल्लेख गर्दै नयाँ उद्यमीलाई प्रोत्साहित गर्न राज्य अगाडि आउनुपर्ने धारणा राखे। वित्तीय साक्षरता अझै बढाउनुपर्नेमा जोड दिँदै उनले राजस्व बुझाउने बहुस्थानिय झन्झटरहित प्रणाली बनाउन राज्यलाई आग्रह गरे।
आन्तरिक राजस्व कार्यालय पोखरा कास्की र स्याङ्जा क्षेत्रलाई सम्हाल्ने प्रमुख कर प्रशासनिक निकाय हो। कार्यालयका अनुसार कात्तिक मसान्तसम्म व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६९ हजार ८ सय ६ पुगेको छ। मूल्य अभिवृद्धि करमा १२ हजार ८ सय ६९ तथा अन्तःशुल्कमा ४ हजार ५ सय ४२ करदाताहरू आबद्ध छन्। व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या २ लाख १८ हजार १ सय २९ पुगेको कार्यालयले जनाएको छ।
यही अवधिसम्म कार्यालयले जम्मा १ अर्ब ५० करोड २० लाख राजस्व संकलन गरेको छ। यसमध्ये आयकरतर्फ ८१ करोड ४६ लाख, मूल्य अभिवृद्धि करतर्फ ५२ करोड २४ लाख, अन्तःशुल्कतर्फ १२ करोड ७१ लाख तथा विलासिता शुल्कतर्फ ३ करोड ७८ लाख राजस्व संकलन भएको छ। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष १ करोड ५४ लाख बढी राजस्व संकलन गर्न कार्यालय सफल भएको छ ।
कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली, पोखरा च्याम्बर अफ कमर्सका कास्कीका अध्यक्ष ओमराज बास्तोला, स्याङजा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, स्याङजा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मी, नेपाल चार्टर्ड एकाउन्टेन संघ कास्कीका अध्यक्ष दिपक भुर्तेल लगायतले जेनजी आन्दोलन पछि व्यवसायलाई राज्यले प्रोत्साहन हुने गरी राहत प्याकेज ल्याउन माग गरे । अझै पनि नीजि क्षेत्रको मनोवल कमजोर भएकोले शान्ति सुरक्षा कायम गर्दै जेनजी आन्दोलनको क्रममा तोडफोड र लुटपाट गर्ने उपर कार्वाही गर्न व्यवसायीहरुले माग गरे । कार्यालयमा हाल क्यिान्टिनबाट सेवा सुरु गरिएको कम्पुटर अप्रेटर सुदिप रेग्मीले पोखराक्लिकलाई बताए । जेनजी आन्दोलनमा आगजनी भएको कार्यालय भवन अझै मर्मत संहार हुन सकेको छैन भने कार्यालयका सरसामानहरु बाहिर राखिएको छ ।




