पोखराको आर्वामा हुने तेस्रो संस्करणको ‘पोखरा एन्ड्युरो रेस’ मा १३ देशका साईक्लिष्ट सहभागि हुदै

-


     पोखरा क्लिक     
     कार्तिक २५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २५ कार्तिक,

पोखरा महानगरपालिका–१३ आर्वामा यही कार्तिक २७ गते अर्थात विहिबार देखि सुरु हुने तेस्रो संस्करणको ‘पोखरा एन्ड्युरो साईक्लिङ रेस’ मा १३ देशका साईक्लिष्टहरु सहभागि हुने भएका छन् । डाउनहिल डष्क प्रालिको आयोजनामा हुने यो प्रतियोगितामा नेपाल सहित १३ देशका साईक्लिष्टले सहभागिता जनाउने भएको प्रालिका प्रबन्धक तथा रेस निर्देशक सुनिलचन्द्र शर्माले पोखराक्लिकलाई बताउनु भयो ।

अन्तर्राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा अष्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मनी, अमेरिका, ओमान, जापान र श्रीलंका, फिल्पिन्स, भारत, चाइना लगायतका देशका खेलाडीले नाम दर्ता गराइसकेको उहाँले जनाउनु भयो । प्रतियोगितामा करिब ५० जना साईक्लिष्टहरु सहभागि हुने भएको आयोजकले जनाएको छ । उक्त रेसको लागि करिब १ दशमलव ६ किलोमिटर दूरीमा डाउनहिल ट्र्याक तयार गरिएको छ । ६ वटा फरक–फरक ट्रेलमा प्रतिस्पर्धा हुने भएको छ भने प्रतियोगिता जुनियर (१२–१८ वर्ष), पुरुष एलिट (१९ वर्षमाथि), खुल्ला महिला, माष्टर ए (३०–३९ वर्ष), माष्टर बी (४०–४९ वर्ष) र भेट्रान्स (५० वर्षमाथि) इभेण्टमा आयोजना हुने छ ।

आर्वालाई पोखराको साहसिक खेलको हबका रूपमा विकास गर्ने लक्ष्य सहित वडाले विगत ३ बर्ष देख निरन्तर साथ र सहयोग गर्दै आएको पोखरा १३ का वडा अध्यक्ष किरण बरालले बताउनु भयो । अफसिजनमा पनि उक्त प्रतियोगिताको कारण पोखराको साहसिक खेल पर्यटनको समेत प्रबद्र्धन हुने भएको उहाँले जनाउनु भयो । २०२० देखि साईक्लिङ रेस आयोजना गर्दै आएको छ भने आर्वामा हालसम्म ६ वटा ट्रेल निर्माण भइसकेका छन् र पूर्वाधार विस्तारमा हालसम्म करिब २५ लाख रुपैयाँ खर्च भइसकेको छ ।

प्रतियोगिताको सुरक्षाका लागि १४ सदस्यीय मेडिकल टिम खटाइने भएको छ, जसमा २ जना चिकित्सक र ४ वटा एम्बुलेन्स रहनेछन् । प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ५ जना साईक्लिष्टलाई ‘साईक्लिङ एशोसिरिज अवार्ड’ प्रदान गरिनेछ । साथै उत्कृष्ट जम्प गर्ने खेलाडीलाई ३० हजार रुपैयाँको विशेष पुरस्कार बी एण्ड बी हस्पिटलले प्रायोजन गर्ने जनाएको छ । कास्की जिल्ला साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीका अनुसार पोखरा एन्ड्युरो जस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमले पोखरालाई ‘साहसिक पर्यटनको राजधानी’का रूपमा स्थापित गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ ।