
दीननाथ बराल,
पोखरा, २५ कार्तिक,
आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद परिषद्ले थप बजेट माग गरेको छ । नवौं संस्करणमा उल्लेखनीय प्रदर्शन गर्दै साख कायम राखेको गण्डकीले यस पटक अझ प्रभावकारी तयारीका लागि ४ करोड ६ लाख रुपैयाँ माग गरेको हो ।
चालु आर्थिक वर्षमा खेलाडी तयारीका लागि १ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएको उल्लेख गर्दै परिषद्का सदस्य–सचिव श्रीधर शर्माले अघिल्लो संस्करणमा प्रशिक्षण सहित तयारीका क्रममा ५ करोड ९६ लाख रुपैयाँ खर्च भएको स्मरण गराउदै यस पटक अतिरिक्त बजेट आवश्यक रहेको बताउनुभयो । २०७९ मा पोखरामा भएको उक्त प्रतियोगितामा प्रदेशमा प्रथम समग्रमा चौथो हुदै गण्डकी प्रदेशले राम्रो नतिजा हासिल गर्न सफल भएको थियो । गण्डकीले ३२ वटा स्वर्ण पदक प्राप्त गरेको थियो ।
शर्माका अनुसार खेलाडीको तल्लो स्तरबाट विकास गर्ने उद्देश्यले सञ्चालन भइरहेको राष्ट्रपति रनिङशील प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिने तयारी छ । प्रदेश सरकारले यसका लागि २० लाख रुपैयाँ मात्र विनियोजन गरे पनि प्रतियोगिता सम्पन्न गर्न थप ७५ लाख रुपैयाँ माग गरिएको उहाँले पोखराक्लिकलाई जानकारी दिनुभयो ।
गत वर्ष गोर्खामा सम्पन्न उक्त प्रतियोगिता यस पटक बागलुङमा आयोजना गरिने भएको छ । सदस्य–सचिव शर्मा नियुक्त भएपछि सुरु गरिएको आलोपालो प्रणाली अन्तर्गत यो प्रतियोगिता क्रमशः विभिन्न जिल्लामा हुदै आएको छ । शर्माले खेलकुद पूर्वाधार विकाससँगै जिल्लास्तरमा खेलकुद चलायमान बनाउन आलोपालो प्रणालीले सघाउने विश्वास व्यक्त गर्नुभयो । गत वर्ष राष्ट्रपति रनिङशीलका लागि ३० लाख विनियोजन भए पनि थप ६४ लाख प्राप्त भएको उहाँले बताउनुभयो ।
गत कार्तिक १६ गते बसेको परिषद्को बैठकले दशौं राष्ट्रिय खेलकुदका लागि आवश्यक बजेट माग गर्ने निर्णय गर्दै पोखरामा हुने प्रशिक्षण र तयारी कार्यक्रम प्रभावकारी बनाउन छलफल गरेको थियो । खेलकुदकर्मीहरूले भने प्रदेश सरकारले विनियोजन गर्ने रकमकै आधारमा बन्द प्रशिक्षणको गुणस्तर निर्धारण हुने जनाएका छन् ।




