सहारा एकेडेमीमा निर्मलपोखरीका विष्णु गिरीको सहयोग

-


     पोखरा क्लिक     
     कार्तिक २५ गते २०८२ मा प्रकाशित


पोखरा, २५ कात्तिक,

पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा विभिन्न व्यक्तिहरुले स्वतःस्फूर्त सहयोग गर्ने गरेका छन् । यसैक्रममा पोखरा २१, निर्मलपोखरी निवासी विष्णु गिरीले एकेडेमीका बालकहरुका लागि यस्तै सहयोग गरे । सोमबार उनले ३४ थान जर्सी सेट, ३४ थान मोजा र खाजाका लागि नगद ५ हजार गरी कुल ५० हजार बराबरको सहयोग गरेका हुन् ।

गिरीले उक्त सहयोग एकेडेमी संयोजक विष्णु गुरुङ र बालकहरुलाई संयुक्तरुपमा हस्तान्तरण गरे । एकेडेमीमा पहिल्यैदेखि सहयोग गर्ने इच्छा रहेकामा आज आएर यसरी सहयोग गर्न पाउँदा ज्यादै गौरवान्वित भएको उनले प्रतिक्रिया दिए । उनले आउँदा दिनमा पनि सहयोगमा निरन्तरता दिने आश्वासन दिए । शिशिर गिरीले समन्वय गरेको सो कार्यक्रममा अजय गिरी, रोशन गिरी, जनक रायमाझी र आमा ईश्वरी गिरीको उपस्थिति रहेको थियो ।

सहारा क्लब पोखराद्वारा सञ्चालित एकेडेमीका हाल चौथो ब्याजको रुपमा ३० जना बालकहरु आश्रित रहेको क्लब अध्यक्ष केशवबहादुर थापाले जनाए । सहयोग दातालाई क्लब अध्यक्ष केशवबहादुर थापा र एकेडेमी संयोजक विष्णु गुरुङले खादा र फूलगुच्छाले स्वागत गरेका थिए । कार्यक्रममा क्लब उपाध्यक्ष बिनु राना मगर, महासचिव गंगाराज पौडेल, सचिव ज्ञानेन्द्र गुरुङ, कोषाध्यक्ष लिलबहादुर थापा, कार्यसमिति सदस्य अमरबहादुर राजभण्डारी, प्रमिला घले, विजय गुरुङ, पूर्व कार्यसमिति सदस्य रविन श्रेष्ठको उपस्थिति थियो ।

कार्यक्रम समापनमा एकेडेमी संयोजक विष्णु गुरुङले सहयोगी जन, मन र समन्वयप्रति धन्यवाद एवं हार्दिक आभार प्रकट गर्दै भविष्यमा पनि सहयोगमा निरन्तरता दिँदै सहयोगी हातहरु बढाउन आग्रह गरे ।