पोखरा–ओत्सुकीबीच पर्यटन, प्रविधि र शिक्षा सहकार्यमा छलफल

-


     पोखरा क्लिक     
     कार्तिक २५ गते २०८२ मा प्रकाशित


पोखरा, २५ कार्तिक,

पोखरा महानगर र जापानको ओत्सुकी नगरबीच पर्यटन, प्रविधि र शिक्षा आदानप्रदानका विषयमा द्विपक्षीय छलफल भएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यले अनुभव आदानप्रदानसहित दुबै नगरबीच विकास साझेदारी र जनसम्बन्ध सुदृढ गर्ने सम्भावनाबारे चर्चा भएको बताउनुभयो ।

हिमालको काखमा अवस्थित पोखरा र ओत्सुकीबीच पर्वतीय संस्कृति, रहनसहन र पर्यटनका असल अभ्यास आदानप्रदानमा सहकार्य गर्ने सहमति पनि भएको उहाँको भनाइ छ । छलफलका क्रममा ओत्सुकी नगरका प्रमुख कोबायसीले छिमेकी नगर होकुतोका प्रमुखको तर्फबाट यसअघि पोखरा र होकुतो नगरबीच भएको पर्वतीय नगर मित्रता समझदारी पत्र मेयर आचार्यलाई हस्तान्तरण गर्नुभयो । उक्त समझदारीले दुबै नगरका नागरिकबीच पर्वतीय भूगोल, संस्कृति र इतिहासप्रतिको सम्मानमार्फत आपसी सहकार्य र मित्रता विस्तार गर्ने लक्ष्य राखेको छ ।

पोखराको सौन्दर्य र वातावरणप्रति मोहित भएका कोबायसीले पोखरा आफूले देखेका सबैभन्दा आकर्षक शहरमध्ये एक भएको बताउँदै, ओत्सुकी र पोखराको भौगोलिक र प्राकृतिक समानताले साझेदारीको नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यटन, सीप र प्रविधि आदानप्रदानमा सक्रिय सहकार्यका लागि तत्परता जनाउनुभयो ।

प्रतिनिधिमण्डलमा ओत्सुकी नगरका प्रमुख कोबायसीसँगै सिनियर अफिसर काजुया सुगिमोतो, होकुतो नगर कानुन विभाग प्रमुख हाजीमी ओसिवा, उद्योग तथा पर्यटन विभागका प्रतिनिधि सिन्जी यामादानेपाल–जापान फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष हिरोमी इसिओका सहभागी थिए ।

पोखरा महानगरको तर्फबाट मेयर आचार्यसँगै प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, वरिष्ठ कानुन अधिकृत नारायण शर्मा, सूचना प्रविधि अधिकृत सुवास ढुङ्गानावडा सदस्य पूर्ण न्यौपाने सहभागी हुनुहुन्थ्यो ।