
दीननाथ बराल,
पोखरा २३, कार्तिक,
पोखरा २६ मा रहेको सिर्जना बहिरा माविमा विगत ३ दिन देखि तालावन्दी भएको छ । बिद्यालयमा भएको अनियमितताको बिषयमा छानविन समितिले छानविन गर्न ढिलाई गरेको भन्दै बिद्याथीहरुले विहिबार सुरु गरेको अनिश्चितकालिन तालावन्दी आईतबार पनि जारी रहेको छ ।
बहिरा बिद्यार्थीहरुले आइतबार पनि प्ले कार्ड प्रर्दशन गरी बिद्यालयमा शांकेतिक रुपमा बिरोध प्रर्दशन समेत गर्नु भएको थियो । विहिबारदेखि बिद्यालयको सम्पूर्ण पठन पाठन प्रभावित भएको बिद्यालय प्रशासनले पोखराक्लिकलाई जनाएको छ । भदौं दोश्रो हप्तामा गठित छानविन समितिले दुई महिना वित्दासम्म पनि छानविन गर्न आलटाल र गोलमोटोल गर्न लागेको अभिभावक प्रविन बिसिले बताउनु भयो । बिद्यार्थीको माग बमोजिम बिद्यालयका प्रधानाध्यापक सुनिल भण्डारी सहित ५ जनाको सरुवा वा राजिनामा हुनैपर्ने उहाँले जनाउनु भयो । विद्यालय प्रशासनले निर्दोष विद्यार्थीलाई झुटो आरोप लगाएर कारागार चलान गरेको बिरोधमा विद्यार्थीहरू गत भदौं ८ गतेदेखि आन्दोलित हुनु भएको थियो ।
पोखरा २६ का वडा सदस्य एवं छानविन समितिका संयोजक तिर्थ राजभाटले दशैं, तिहार र जेनजी आन्दोलनका कारण छानविन गर्न केही ढिलाइ भएको बताउदै आउनु भएको छ । आगामी केही दिन भित्र छानविन हुने बताउदै उहाँले हाल सोधपुछ भई रहेको उल्लेख गर्नुभयो । बिद्यालयका प्र.अ.भण्डारीले छानविन समितिले दिएको रिपोर्टका आधारमा दोषी ठहरिए कार्वाही भोग्न तयार रहेको बताउनु भयो । साथै उहाँले बिद्यालयको बिबाद छिटै अन्त्य हुने समेत जनाउनु भयो । कक्षा ११ मा अध्ययनरत विजय बिकलाई विद्यालय प्रशासन तथा विद्यालयका प्रधानाध्यापक सुनिल भण्डारी लगायतको टिमले उहाँलाई झुटो आरोप लगाएर करिब ८ महिना कारागार चलान गरेपछि विद्यार्थीहरु आन्दोलित हुँदै विद्यालयमा तालाबन्दी गर्नु भएको हो । कक्षा दशमा अध्ययनरत छात्रालाई विजय विकले करणी गरेको आरोपमा विद्यालय प्रशासनले अभिभावकलाई बिना जानकारी प्रहरी सामु पुर्याएको भन्दै विद्यार्थीहरूले प्र.अ. भण्डारी सहित पाँचजना शिक्षकलाई तत्काल सरुवा सहितको कारबाही गर्न माग गर्दै आउनु भएको छ । जिल्ला अदालत कास्कीले करिब ८ महिनापछि विकलाई सफाई दिएसंगै उहाँ कास्की कारागारबाट छुट्नु भएको थियो ।
त्यसैगरी विद्यालयमा १९ दिनको अन्तरालमा यस्तै प्रकृतिको घटनामा संलग्न एकजना छात्राले १४ वर्षको उमेरमा शिशुको जन्म दिनु भएको थियो । आरोपित बालकलाई जिल्ला अदालत कास्कीले उहाँको अभिभावकको जिम्मा लगाएको थियो । १४ वर्षमै बच्चा जन्माउने छात्रा र शिशु हाल अलपत्र अबस्थामा पुगेको उनका आफन्तले गुनासो गर्नु भएको छ ।





