पटक–पटक स्थगित हुँदै आएको दशौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

-


     पोखरा क्लिक     
     कार्तिक १९ गते २०८२ मा प्रकाशित


पोखरा, १९ कात्तिक,

पटक–पटक मिति सारिँदै अनिश्चित बनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्ततः आगामी फागुन १ गतेदेखि ७ गतेसम्म हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आज (बुधबार) बसेको १२३ औं बोर्ड बैठकले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

खेलकुद मन्त्रीको रूपमा नियुक्त भएपछि बब्लु गुप्ताले पहिलो बैठकबाटै दशौं राष्ट्रिय खेलकुदको मिति तोक्नुभएको हो । यसअघि २०७९ सालमा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले दशौं संस्करणको झण्डा ग्रहण गरेको थियो ।दुई वर्षमा एक पटक हुने परम्परा अनुसार २०८१ मंसिरमा हुनुपर्ने प्रतियोगिता पूर्वाधार, आर्थिक अभाव र तयारी अभावका कारण पटक–पटक स्थगित हुँदै आएको थियो । प्रारम्भमा मंसिर, त्यसपछि चैत, पुनः २०८२ जेठसम्म मिति सारिए पनि अन्ततः प्रतियोगिता स्थगित भएको थियो ।

यसपटक भने राखेपले सबै ३६ खेलसहित प्रतियोगिता सञ्चालन गर्ने तयारी अघि बढाएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङको सहजीकरणमा बसेको बैठकमा उपाध्यक्ष ध्रुव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साललगायत बोर्ड सदस्यको सहभागिता रहेको थियो । बैठकले यसै अवसरमा नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसीलाई २५ लाख रुपैयाँ पुरस्कार दिन मन्त्रीपरिषद्लाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने खेल संघलाई ३ महिनाभित्र प्रतियोगिता गर्न निर्देशन, खेलाडीलाई घोषणा गरिएको पुरस्कार तथा सुविधा १५ दिनभित्र वितरण गर्न र खेल संघहरूले वैदेशिक भ्रमणको प्रतिवेदन राखेपमा बुझाउनुपर्ने निर्णय समेत गरिएको छ । यससँगै लामो समयदेखि अनिश्चित बनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब फागुनको पहिलो साता कर्णालीमा हुने भएसंगगै खेलकुदकर्मी खुसि हुनु भएको छ ।