आर्वामा तेस्रो संस्करणको ‘पोखरा एन्ड्युरो रेस’ हुने ९ देशका खेलाडी सहभागि हुदै

-


     पोखरा क्लिक     
     कार्तिक १६ गते २०८२ मा प्रकाशित


पोखरा, १७ कार्तिक,

पोखरा महानगरपालिका–१३ आर्वामा यस बर्ष तेस्रो संस्करणको ‘पोखरा एन्ड्युरो साईक्लिङ रेस’ हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगिता कार्तिक २७ गतेदेखि सुरु हुने भएको आयोजक डाउनहिल डष्क प्रालिले पोखराक्लिकलाई जनाएको छ ।

डाउनहिल डष्क प्रालिको आयोजनामा हुने यो प्रतियोगितामा ८ देशका साईक्लिष्टले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा अष्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मनी, अमेरिका, ओमान, जापान र श्रीलंकाका खेलाडीले नाम दर्ता गराइसकेका छन्। ओमानको राष्ट्रिय टोली समेत सहभागी हुने प्रालिले जनाएको छ । प्रालिका प्रबन्धक तथा रेस निर्देशक सुनिलचन्द्र शर्माका अनुसार प्रतियोगितामा करिब ६० जना साईक्लिष्ट प्रतिस्पर्धा गर्ने छन्। करिब १ दशमलव ६ किलोमिटर दूरीमा डाउनहिल ट्र्याक तयार गरिएको छ ।

६ वटा फरक–फरक ट्रेलमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता जुनियर (१२–१८ वर्ष), पुरुष एलिट (१९ वर्षमाथि), खुल्ला महिला, माष्टर ए (३०–३९ वर्ष), माष्टर बी (४०–४९ वर्ष) र भेट्रान्स (५० वर्षमाथि) इभेण्टमा आयोजना हुने छ । शर्माले आर्वालाई पोखराको साहसिक खेलको हबका रूपमा विकास गर्ने लक्ष्यसहित २०२० देखि साईक्लिङ रेस आयोजना गर्दै आएको बताउनु भयो । उहाँका अनुसार आर्वामा हालसम्म ६ वटा ट्रेल निर्माण भइसकेका छन् र पूर्वाधार विस्तारमा हालसम्म करिब २५ लाख रुपैयाँ खर्च भइसकेको छ। ‘पोखराका सराङकोट वा काहुँजस्तै आर्वा पनि साहसिक खेलका लागि आदर्श स्थान हो,’ शर्मा भन्छन्, ‘हामीले यहाँबाट पोखरा एन्ड्युरोलाई विश्वस्तरमा पुर्याउने लक्ष्य राखेका छौं।’

हालैको जेन–जी आन्दोलनले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारेको भए पनि, आयोजकले प्रतियोगितालाई निरन्तरता दिने निर्णय गरेको छ । प्रतियोगिताको सुरक्षाका लागि १४ सदस्यीय मेडिकल टिम खटाइने भएको छ, जसमा २ जना चिकित्सक र ४ वटा एम्बुलेन्स रहनेछन् । प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ५ जना साईक्लिष्टलाई ‘साईक्लिङ एशोसिरिज अवार्ड’ प्रदान गरिनेछ । साथै उत्कृष्ट जम्प गर्ने खेलाडीलाई ३० हजार रुपैयाँको विशेष पुरस्कार बी एण्ड बी हस्पिटलले प्रायोजन गर्ने जनाएको छ ।

कास्की जिल्ला साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीका अनुसार पोखरा एन्ड्युरो जस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमले पोखरालाई ‘साहसिक पर्यटनको राजधानी’का रूपमा स्थापित गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।