
मकवानपुर, १४ कात्तिक,
मकवानपुर जिल्ला खेलकुद विकास समितिले बिहीबार हेटौंडामा आयोजित एक विशेष समारोहका बीच खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ। जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघ मकवानपुरले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो।

समारोहमा स्पेनमा रहेर अन्तर्राष्ट्रिय कराँते प्रशिक्षकका रूपमा योगदान दिँदै आएका अशोक लामा रुम्बा र उनका छोरा आमेथ लामा रुम्बालाई गृह जिल्लामा विशेष सम्मान गरिएको हो। अशोक लामाले अन्तर्राष्ट्रिय कराँते प्रशिक्षण मार्फत नेपालको खेलकुद प्रतिष्ठा बढाउँदै आएका छन् भने उनका छोरा आमेथ स्पेनको सीडी इन्टरनेशनल क्लबमा आबद्ध भई फुटबलका प्रतिभावान् अलराउण्डरका रूपमा पहिचान बनाउँदै आएका छन्।

त्यस्तै, केही महिनाअघि अजरबैजानको बाकुमा सम्पन्न अन्तर्राष्ट्रिय बुडो मार्शल आर्ट च्याम्पियनसिप–२०२५ मा स्वर्ण पदक जित्दै नेपाललाई गौरवान्वित बनाएका मकवानपुरका क्योकुशिन कराँते खेलाडी सुदर्शन खतिवडालाई पनि सो अवसरमा सम्मान गरिएको थियो।समारोहमा प्रमुख अतिथि पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सम्मानित खेलाडीहरूलाई शुभकामना दिँदै भनिन्, “विदेशमा रहेर पनि देशको नाम उच्च बनाउने अशोक र आमेथ रुम्बा, र सुदर्शन खतिवडाको योगदान प्रेरणादायी छ।” यसैबिच, उक्त अवसरमा स्पेनका खेलकुदकर्मी जसले नेपाली खेलकुद र पर्यटनको क्षेत्रमा उल्लेखनिय योगादन दिएको भन्दै चेमा रामोसलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले गरेका थिए। कार्यक्रममा पूर्व अध्यक्ष सानु लामा, बागमती खेलकुद विकास समितिका अमृत लुङ्बा, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, सदस्य क्रिष्ण रुम्बा झाँक्री, मदनकृष्ण उप्रेती, रुपा ढुंगाना लगायतको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो। हालै पोखरामा पनि प्रशिक्षक अशोक रुम्बालाई स्वागतसहित सम्मान गरिएको थियो। मकवानपुरमा पुनः गृह जिल्लाबाट प्राप्त यो सम्मानले रुम्बा बाबु–छोराको खेल यात्रा अझ प्रशंसनीय हुने विश्वास गरिएको छ ।







