
पोखरा, १२ कार्तिक,
जेनजी आन्दोलनका क्रममा कास्कीका विभिन्न प्रहरी कार्यालयहरूमा भएको आगजनी र तोडफोड घटनामा संलग्न १८ जनामाथि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार भेटघाटमार्फत पक्राउ परेकाहरूको नाम विवरण सार्वजनिक गरेको हो।
पक्राउ परेकामध्ये धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई हाल पोखरा–४ बस्ने २४ वर्षीय राजेश मक्रान्ती, पोखरा–४ अधिकारीमार्गका ५४ वर्षीय नारायण साई, पोखरा–११ फूलबारीका २२ वर्षीय अरुण विक, पोखरा–१ कसेरीका ४१ वर्षीय रुपेश मगर र पोखरा–१ मोहोरिया टोलका ४३ वर्षीय दिपु साई रहेका छन्। कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार मक्रान्ती यसअघि पनि २०७९ सालमा अभद्र व्यवहार मुद्दामा मुछिएका थिए। २४ भदौमा जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको लुटपाट र आगजनीमा मक्रान्ती, साई र विकको प्रत्यक्ष संलग्नता देखिएको कार्कीले बताए।
प्रहरीका अनुसार रुपेश मगरले बगर प्रहरी चौकीमा आक्रमण गरेका थिए भने दिपु साईले जिल्ला प्रहरी कार्यालय कास्की पुगेर प्रहरीको हतियारमा आगजनी गरेका थिए। त्यसैगरी, अन्नपूर्ण गाउँपालिका–६ का २२ वर्षीय ग्रिस क्षेत्री, नयाँपुलकै ४३ वर्षीय लङबहादुर नेपाली, १९ वर्षीय अरविन विक, ६२ वर्षीय थमबहादुर सार्की र ४२ वर्षीय पूर्णबहादुर नेपालीलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
डीएसपी हरिबहादुर बस्नेतका अनुसार पूर्णबहादुर नेपाली पहिले अभद्र व्यवहार मुद्दामा बगर प्रहरी चौकीको हिरासतमा थिए। सो कार्यालयमा आगजनी भएपछि उनी नयाँपुल पुगेको र त्यहाँ पनि तोडफोड तथा आगजनीमा संलग्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको हो। यसअघि, प्रहरी कार्यालय कास्कीमा हुलहुज्जत गर्ने तथा प्रहरीको पोसाक लगाएर फोटो खिचाउने ८ जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो। तीमध्ये सबैलाई धरौटीसहित तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ।
तारेखमा रिहा हुनेहरूमा पोखरा–९ पृथ्वीचोकका २४ वर्षीय अमृत घले, पोखरा–२० मौजाका ३९ वर्षीय चन्द्रबहादुर गुरुङ, रुकुम घर भई पोखरा–८ बस्ने २४ वर्षीय दीपेश शाही ठकुरी, पोखरा–१६ का २४ वर्षीय सुरेश गुरुङ, पोखरा–५ का २९ वर्षीय सागर अधिकारी, पोखरा–२० मौजाका २२ वर्षीय सागर परियार, पोखरा–५ पस्र्याङका ४५ वर्षीय राजेश शाही र सोही ठाउँका २९ वर्षीय दीपेश शाह रहेका छन्। प्रहरीका अनुसार हाल पक्राउ परेकाहरूविरुद्ध सार्वजनिक सम्पत्ति नोक्सानी, आगजनी, तोडफोड तथा हुलहुज्जतसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।





