
दीननाथ बराल,
पोखरा, ११ कार्तिक
पोखरामा आज (मंगलबार) उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको छठ पर्व उल्लासका साथ सम्पन्न गरिएको छ। सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पूजा विधिवत् सम्पन्न गरिएको हो।
तराई–मधेश समुदायका श्रद्धालुहरूले फेवातालदेखि सेतीनदी, मन्दिर र पोखरीसम्म सूर्यदेवको आराधना गर्दै आस्था र भक्तिभावका साथ पूजा सम्पन्न गरेका छन्। चार प्रमुख स्थल—फेवाताल किनारस्थित केदारेश्वर मन्दिर, नारायणथान मन्दिर, भद्रकाली मन्दिर तलको कमलपोखरी (माछापोखरी) र सेती–कालिखोला संगमस्थित रिठ्ठाघाट त्रिवेणीधाम—मा विशेष व्यवस्था गरिएको थियो।
मंगलबार बिहान सिमसिम पानी परे पनि श्रद्धालुहरू उत्साहका साथ पूजामा सहभागी भएका थिए। नेपाल भारत व्यवसायी संघ (एन.बी.) का पूर्वअध्यक्ष भुनेस कुमारका अनुसार, फेवाताल क्षेत्र सबैभन्दा भीडभाड भएको स्थान बनेको थियो। उनले स्थानीय सरकारलाई छठ घाटहरू अझ व्यवस्थित बनाउन सहयोग गर्न आग्रह गरे ।
नारायणथान मन्दिर संरक्षण समितिका उपाध्यक्ष विनोद गुप्ताले पोखरामा छठ पर्व मनाउने परम्परा नारायणथान मन्दिर नजिकको नहरबाट सुरु भएको जानकारी दिए । त्यस्तै, एन.बी. छठ पूजा समितिका अध्यक्ष विश्राम कुशवाहाका अनुसार केदारेश्वर क्षेत्रमा यस वर्षको छठ विशेष उत्साहका साथ सम्पन्न भयो ।
रिठ्ठाघाट त्रिवेणीधाम छठ पूजा समितिका अध्यक्ष हरिश्चन्द्र प्रसाद कुशवाहाले श्रद्धालुहरूको सुविधा लागि टेन्ट, बत्ती र बस्ने व्यवस्था मिलाइएको बताए। उनका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष सहभागिता केही घटेको छ।
नेपाल बढी समाज भद्रकाली छठ पूजा समितिका अध्यक्ष तारानन्द शर्माले परम्परागत रूपमा केराको खम्बा, उखु, सुन्तला र भोगटेले मण्डप सजाई सूर्यदेवलाई अर्घ अर्पण गरिएको बताए। समितिका सचिव रामजुलुस शर्माले विगत सात वर्षदेखि कमलपोखरीमा विधिपूर्वक छठ पर्व मनाउँदै आएको जानकारी दिए।
पछिल्ला वर्षहरूमा तराई–मधेश मूलका श्रद्धालुसँगै पहाडी समुदायका मानिसहरू पनि छठ पर्वमा सहभागी हुन थालेका छन् । आस्था, सौहार्द र सांस्कृतिक विविधताको प्रतीक बनेको यो पर्वले पोखराको धार्मिक सहअस्तित्वलाई अझ मजबुत बनाएको सहभागीहरूको विश्वास छ ।






