साम्बाको उत्कृष्ट प्रदर्शनले नेपालले भारतलाई पराजित गर्यो

-


     पोखरा क्लिक     
     कार्तिक १० गते २०८२ मा प्रकाशित


पोखरा, १० कार्तिक

ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको छ। भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा)को दुई गोलको मद्दतमा नेपालले भारतलाई २–१ ले पराजित गर्न सफल भएको हो ।

खेलको दोस्रो मिनेटमै विमला विकको लामो पासमा सावित्राले भारतीय डिफेन्डरलाई पछि पार्दै पहिलो गोल गर्न सफल भईन् । खेलमा दोस्रो हाफको ६२औं मिनेटमा सावित्राले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। भारतका लागि करिष्मा श्रीरभोइकारले खेलको ८१औं मिनेटमा सान्त्वना गोल फर्काइन्।

यो खेल प्रतिष्ठाको लडाइँका रूपमा खेलिएको थियो, किनभने यसअघि इरानले नेपाल र भारत दुवैलाई हराउँदै उपाधि हात पारेको थियो। भारतको घरेलु मैदानमा नेपालको यो जित विशेष बनेको छ। कप्तान सावित्राले भारतविरुद्ध आफ्नो गोल संख्या ९ पुर्‍याउँदै नेपालको इतिहासमा चम्किलो प्रदर्शन कायम राखेकी छन्। समग्रमा उनले राष्ट्रिय टोलीका लागि ६८ गोल गरिसकेकी छिन्।

यसअघि नेपाल पहिलो खेलमा इरानसँग ३–० ले पराजित भएको थियो भने भारत पनि इरानसँग २–० ले पराजित भएको थियो। उपाधिको दौड सकिए पनि नेपालले भारतविरुद्धको जितले आत्मविश्वास पुनः हासिल गरेको छ।



This will close in 20 seconds