
दीननाथ बराल,
पोखरा, १० कार्तिक
पोखरामा आज (सोमबार) अस्ताउदो सुर्यलाई अर्घ दिदै छठ पर्व धुमधामका साथ मनाइदै छ । सुर्यका भक्तहरु फेवातालदेखि सेतीनदी हुँदै मन्दिर र पोखरीसम्म धार्मिक उल्लासका साथ अस्ताउदो सुर्यलाई अर्घ सहितको फलफुल चढाउदै छठ पर्व मनाउदै गरेका हुन् । छठ पर्वको मुख्य दिन आज पोखराका मुख्य ४ स्थानमा धुमघामका साथ छर्ठ पर्व मनाउन सुरु भएको हो ।
भोलि(मंगलबार) बिहान उदाउदो सुर्यलाई अर्घ दिएसंगै यस बर्षको छठ पूजा विधिवत रुपमा समापन हुने भएको हो । तराई–मधेश समुदायका श्रद्धालुहरूले पोखरामै सहज वातावरणमा सूर्यदेवको आराधना गर्न सकून् भन्ने उद्देश्यले पोखराका चार प्रमुख स्थल—फेवाताल किनारस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसर, नारायणथान मन्दिर, भद्रकाली मन्दिर तलको कमलपोखरी र सेती–कालिखोला संगमस्थित रिठ्ठाघाट त्रिवेणीधाम—मा विशेष व्यवस्थापन गरिएको छ ।
यी स्थलहरूमा सरसफाइ, झिलिमिली बत्ती, फूलमाला र टेन्ट जडान गरी पूजाका लागि आवश्यक तयारी गरिएको छठ पूजा समितिहरूले जनाएका छन्। पोखराको नारायणथान मन्दिर नजिकको नहरबाट पोखरामा छठ पर्व मनाउन सुरु भएको नारायणथान मन्दिर संरक्षण समितिका उपाध्यक्ष विनोद गुप्ताले जानकारी दिनुभयो ।
नेपाल भारत व्यवसायी संघ (एन.बी.) छठ पूजा समितिको आयोजनामा हुने केदारेश्वर क्षेत्रमा अस्ूतउदो सुर्यलाई सुर्यका भक्तहरुले दिउसै देखि अर्घ दिन सुरु गर्नु भएको समितिका अध्यक्ष विश्राम कुशवाहाले बताउनु भयो । आज अपराह्न साढे ३ बजेदेखि साँझ ६ बजेसम्म र मंगलबार बिहान साढे ३ बजेदेखि ७ बजेसम्म छठ पूजा सम्पन्न हुने उहाँले जनाउनु भयो । पूर्वअध्यक्ष भुनेस कुमारका अनुसार पछिल्ला वर्षमा पोखरामै बसोबास गर्ने तराई–मधेश समुदायका श्रद्धालुहरूले पोखरामै छठ पर्व मनाउने परम्परा स्थापित गर्दै आउनु भएको छ ।
रिठ्ठाघाट त्रिवेणीधाम छठ पूजा समितिका अध्यक्ष हरिश्चन्द्र प्रसाद कुशवाहाले सेती र कालिखोला किनारमा टेन्ट, बत्ती र श्रद्धालुका लागि बस्ने व्यवस्था मिलाइएको बताउँदै सोमबार रातिदेखि खाजा र मंगलबार बिहान प्रसाद वितरणका लागि स्वयंसेवक टोली खटाइएको जानकारी दिनुभयो । अघिल्ला बर्षको तुलनामा यस बर्ष छठ पर्व मनाउनेको केही कमी भएको बताइन्छ ।
त्यस्तै, नेपाल बढी समाज भद्रकाली छठ पूजा समितिका अध्यक्ष तारानन्द शर्माले परम्परा अनुसार केराको खम्बा, उखु, सुन्तला, भोगटे लगायतका फलफूलका बोटहरूले मण्डप सजाउने र सूर्यदेवलाई भगवानका रूपमा अर्घ दिई मनोकामना पूर्तिको कामना गर्दै छठ पूजा हुने गरेको बताउनु भयो । समितिका सचिव रामजुलुस शर्माले आफुहरुले सुर्यको मर्म र भावना अनुसार नेपाली परम्परा अनुसार विधि पूर्वक छठ पर्व विगत ७ बर्ष देखि कमलपोखरीमा धुमधामका साथ छठ पर्व मनाउन थालेको दाबी गर्नुभयो ।





