
दीननाथ बराल,
पोखरा–९, कार्तिक,
पोखरा महानगरपालिकाको कार्यालय भवन जेनजी आन्दोलनका क्रममा जलेपछि अब नयाँ स्थानबाट एकीकृत रूपमा सेवा संचालन हुने भएको छ । महानगरको कार्तिक २ गते बसेको कार्यपालिका बैठकले नयाँ भवन तयार नहुँदासम्मका लागि नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको भवन भाडामा लिएर अस्थायी कार्यालय सञ्चालन गर्ने निर्णय गरेको महानगरले पोखराक्लिकलाई जनाएको छ ।
बैंकको भवनमा भुई तलामा बैंक संचालनमा आएको छ भने पहिलो तला र दोश्रो तला गरी दुई तल्लामा करिब २० हजार वर्गफुट क्षेत्रफलमा रहेको छ, जहाँ विभिन्न महाशाखाहरूलाई एउटै ठाउँमा समायोजन गरिने भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पोखराक्लिकलाई बताउनु भयो । अब नागरिकले विभिन्न महाशाखा खोज्दै ठाउँ–ठाउँ धाउनुपर्ने अवस्था अन्त्य हुने उहाँले जनाउनु भयो ।
महानगरले उक्त भवन मासिक ७ लाख रुपैयाँ भाडामा लिएको उहाँले उल्लेख गर्नुभयो । हाल पूर्वाधार विकास महाशाखा सशित केही महाशाखाको मात्र मासिक रुपमा ३ लाख ५० हजारमा भाडाको भवनबाट सेवा दिँदै आएकोमा अब सबै प्रमुख महाशाखा एउटै स्थानबाट सञ्चालन हुनेछन् । तर शिक्षा र स्वास्थ्य महाशाखा भने पुरानै स्थानबाट सेवा प्रवाह गर्नेछन्।् ।
महानगरले हालै सम्पन्न प्रारम्भिक अध्ययन अनुसार जेनजी आन्दोलनका कारण करिब ३१ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । नयाँ स्थायी कार्यालय भवनका लागि पोखरा–१७ स्थित गल्फ कोर्स क्षेत्रको जग्गा चयन भइसकेको छ, तर निर्माण सुरु हुन अझै तीन वर्ष लाग्ने अनुमान गरिएको छ । त्यस अवधिसम्म महानगरले भाडाको भवनमै कार्यालय सञ्चालन गर्ने योजना बनाएको हो ।
बैंक भवनमा फर्निचर र पार्केटिङको काम गर्न करिब ८५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसअघि दमकल रहेको स्थानमा अस्थायी भवन निर्माण गर्ने प्रस्ताव पनि आएको थियो, तर प्राविधिक समितिले अल्पकालीन रूपमा भाडा लिँदा लागत घट्ने निष्कर्ष दिएको थियो ।
अहिले कार्यालय जलेको स्थानमा भने भविष्यमुखी व्यावसायिक भवन निर्माणको प्रस्ताव अघि सारिएको छ । केही वडाध्यक्षहरूले सोही ठाउँमा नयाँ महानगर कार्यालय बनाउने माग गरे पनि कार्यपालिका बैठकले भूगर्भिक अध्ययनपछि मात्रै अन्तिम निर्णय लिने निष्कर्ष निकालेको छ ।
हाल महानगरका विभिन्न महाशाखा छुट्टाछुट्टै भवनमा रहेका कारण नागरिकले आवश्यक सेवा पाउन धेरै ठाउँ धाउनुपर्ने बाध्यता रहेको छ । अब धेरै सेवा एकीकृत रूपमा नयाँबजारस्थित भवनबाट उपलब्ध हुने भएकाले सेवाग्राहीले सजिलो हुने अपेक्षा गरिएको छ ।
जलेको भवनका कारण विगत केही महिना अस्थिर अवस्थामा रहेको पोखरा महानगरपालिकाले अब नागरिकलाई एकै ठाउँबाट सहज र द्रुत सेवा दिने दिशामा अग्रसर भएको पोखराका मेयर धनराज आचार्यको भनाई रहेको छ । नयाँबजारको भवन अस्थायी समाधान हो, तर यो व्यवस्थाले सेवाको पहुँच र प्रभावकारितामा ठुलो सुधार हुने उहाँको भनाई छ ।




